रामेछाप, साउन १४ । पूर्वाधार विकास कार्यालय रामेछाप र निर्माण व्यवसायीको लापरबाहीका कारण खिम्ति–फर्पु–नामाडी–बेताली–रस्नालु–ठोस सडकखण्ड अन्तर्गत गोकुलगंगा गाउँपालिका क्षेत्रको सडक आयोजना अलपत्र बनेको छ।
सडक अलपत्र छाड्दा रामेछापकाे उत्तरी भेगका नागरिकले हैरानी बेहोर्नु परेको छ । यस विषयमा सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएको छैन।
खिम्ति–फर्पु–नामाडी–बेताली–रस्नालु–ठोस सडकखण्ड अन्तर्गत रस्नालु क्षेत्रमा पर्ने ९ किलोमिटर सडकमा समयमै निर्माण कार्य सम्पन्न नहुँदा रामेछापकाे गाेकुलगंगा र उमकुण्ड गाउँपालिका तथा साेलुसम्म जाने सवारी साधन र त्यसमा यात्रा गर्ने यात्रीका साथै स्थानीय हैरान भएका छन् । यो सडक निर्माण कार्य २०८० सालको असार मसान्तमा सुरु भएको थियो। तर, दुई आर्थिक वर्ष बित्दा पनि ५० प्रतिशतभन्दा बढी प्रगति हुन सकेको छैन।
बेताली–भिमसेनस्थान खण्डको ४.५ किलोमिटर सडक निर्माणको जिम्मा ईश्वरी कन्स्ट्रक्सन प्रालिले लिएको हो। त्यस्तै, दार्खाखोला–बुर्के–धारापानी खण्डको निर्माण कार्य पाँचपोखरी निर्माण सेवाले पाएको हो।

स्थानीय सचिन कार्कीका अनुसार दुवै खण्डमा काम अत्यन्तै सुस्त गतिमा भइरहेको छ। व्यवसायी पक्ष रकम नआएको बहाना गर्छ भने कार्यालयले व्यवसायीले काम नगरेको भन्दै पन्छिने गरेको उहाँको भनाइ छ। आरोप–प्रत्यारोपको पीडा भने स्थानीयले बेहोर्नु परिरहेको छ।
गोकुलगंगा–५ नामाडीका वडाध्यक्ष दीपक कार्कीले सडक निर्माण कार्यमा अपेक्षित गति नआएको बताउनुभयो। ‘म्याद थपेर पनि काम अघि नबढ्ने प्रवृत्तिले स्थानीयलाई निराश बनाएको छ’, उहाँको भनाइ छ ।
वडाध्यक्ष कार्कीका अनुसार अघिल्लो आर्थिक वर्षमा थोरै मात्र प्रगति भए पनि चालू आर्थिक वर्ष २०८१/०८२ मा काम ठप्पजस्तै छ। उहाँले हाल पूर्वाधार विकास कार्यालय रामेछापको नेतृत्वमा डोजर सञ्चालन भए पनि त्यसले योजना सुधार्नुको साटो अझ बिगारेको बताउनुभयो ।
गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले निर्माण व्यवसायीको लापरबाहीका कारण सडक अस्तव्यस्त भएको प्रतिक्रिया दिनुभयो। ‘पानी पर्दा हिलो, घाम लाग्दा धुलो, यस्तो अवस्थामा जोखिम मोलेर यात्रा गर्नुपरेको छ’, अध्यक्ष खड्काको भनाइ छ ।

गाउँपालिकाले सम्बन्धित निकायलाई १२ पटकसम्म ध्यानाकर्षण गराइसकेको जानकारी दिँदै अध्यक्ष खड्काले ठेकदार कम्पनीले कसैलाई नमानेर स्वेच्छाचारी ढङ्गले काम नगरेको आरोप लगाउनुभयो।
पूर्वाधार विकास कार्यालय रामेछापका सूचना अधिकारी दोर्णबहादुर चौधरीले यी दुई सडक योजनाका लागि ३० करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बेताली–भिमसेनस्थान खण्डका लागि १५ करोड ३९ लाख र दार्खाखोला–बुर्के–धारापानी खण्डका लागि १४ करोड ८५ लाख रुपैयाँ छुट्याइएको छ। २०८२ असार मसान्तभित्र काम सम्पन्न गर्ने सर्त भयकोमा हालसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको उहाँले बताउनुभयो। ‘अब पनि ठेकदार कम्पनीले काम नगरे कानुनी प्रक्रिया अगाडि बढाइनेछ’, उहाँले भन्नुभयो ।
उहाँले सम्झौतामा निर्माणका क्रममा सडकमा यात्रा गर्ने नागरिकलाई असर नपर्ने व्यवस्था गरिएको भए पनि त्यसलाई व्यवसायीले बेवास्ता गरेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्