जनता टाइम्स

१५ श्रावण २०८२, बिहीबार १२:३४

मन्त्री हेरफेरबारे छलफल गर्न २ दलका शीर्ष नेता बालुवाटारमा


काठमाडौं, साउन १५ । मन्त्री हेरफेर लगायत सरकारका कामकारवाहीबारे छलफल गर्न सत्तारुढ प्रमुख दल एमाले र नेपाली कांग्रेसका शीर्ष नेता बालुवाटारमा भेला भएका छन् ।

बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृह मन्त्री समेत रहेका नेता रमेश लेखक तथा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटलगत्तै मन्त्रीहरू हेरफेर गर्ने सोच बनाएपनि नेपाली कांग्रेसले निर्णय नगर्दा ढिलाइ भएको थियो । आजको छलफलमा मन्त्री हेरफेरबारे प्रधानमन्त्रीले कांग्रेस सभापति देउवाको स्पष्ट धारणा माग्ननुहुने छ। नेपाली कांग्रेसले भने मन्त्रीहरू फेर्दा पार्टीमा किचलो बढ्न सक्ने भन्दै आफ्नो पार्टीका अहिले भएकै मन्त्रीहरुलाई निरन्तरता दिने सङ्केत गरेको छ ।

यदि बालुवाटार छलफलमा देउवाले आफ्नो पार्टीका मन्त्री नफेर्ने अडान राखे एमालेका केही मन्त्री फेर्न ओलीलाई बाटो खुल्ने छ । एमालेभित्र प्रधानमन्त्री ओलीलाई विवादित र कार्य सम्पादनमा कमजोर देखिएका मन्त्रीहरू परिवर्तन गर्न दबाब छ ।

एमाले स्रोतका अनुसार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री रघुजी पन्त र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेबाहेकका मन्त्री परिवर्तन हुनसक्ने छन् ।