जनता टाइम्स

१५ श्रावण २०८२, बिहीबार १८:३८

मन्थलीमा अलपत्र परेको चिस्यान केन्द्र सञ्चालनमा ल्याउन प्रदेश सरकारबाट ५० लाख रुपैँया विनियोजन


रामेछाप, साउन १५  । रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा  अलपत्र परेकाे  चिस्यान केन्द्रकाे बाँकी अब भने अघि बढ्ने भएकाे छ ।

चिस्यान केन्द्र निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि विभिन्न संरचना नबनेकाे कारण अलपत्र परकाे चिस्यान केन्द्रका बाँकि संरचना निर्माणका लाग वाग्मती प्रदेश सरकारले यस आर्थिक वर्षमा थप बजेट विनियाेजन गरेकाे छ ।

वाग्मती प्रदेश सरकार र मन्थली नगरपालिकाको ७०/३० लागत साझेदारीमा करिब ७ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको ५०० मेट्रिक टन क्षमताको सो केन्द्र आवश्यक पूर्वाधार नबन्दा अलपत्र परेको हो। २०७८ को असार मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का दिइएको काम काठमाडौंस्थित इजि इन्फ्रा प्रालिले झण्डै दुई वर्ष ढिला गरी २०८० साउनमा मात्र सम्पन्न गरेको थियो। परीक्षण सफल भइसके पनि केन्द्र प्रयोगमा ल्याउने काममा ढिलाइ हुनु चिन्ताको विषय बनेको छ।

मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले केन्द्रको मुख्य भवन तयार भए पनि घेराबार, कर्मचारी आवास र शौचालय जस्ता संरचना नबनेकाले हस्तान्तरण प्रक्रिया अघि बढ्न नसकेको बताउनुभयाे । चालु आर्थिक वर्ष २०८२/०८३ मा बाँकी संरचना निर्माणका लागि वाग्मती प्रदेश सरकारले ५० लाख रुपैँया विनियोजन गरेकाे श्रेष्ठले जानकारी दिनुभयाे ।

नगरपालिकाले आफ्नाे ३० प्रतिशत हिस्सासहितको रकम प्रदेश सरकारलाई पहिले नै बुझाइसकेको छ। साथै, विद्युत् लाइन विस्तार गरी टिओडी मिटर जडानसमेत नगरकै लगानीमा गरिएको हो।

स्थानीय किसानहरूका अनुसार कृषि उत्पादन भण्डारणका लागि केन्द्र निर्माण भएको भए पनि प्रयोगमा ल्याउन ढिलाइ हुँदा त्यसको प्रत्यक्ष असर उत्पादन र मूल्यमा परेको छ।  चिस्यान केन्द्र निर्माण सकिए पनि सञ्चालन नहुँदा सार्वजनिक लगानीको उपयोगितामाथि प्रश्न उठेको छ । स्थानीयले बाँकी संरचना चाँडै निर्माण गरी केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउनु पर्ने माग गरेका छन्।