जनता टाइम्स

१५ श्रावण २०८२, बिहीबार २२:२१

कर्मचारीलाई तलब खुवाउन नसक्नेहरू आज ठुला कुरा गर्दै छन् : शंकर पोखरेल 


काठमाडौं, साउन १५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजामती कर्मचारी ऐन चाँडै आउने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०८२ को सन्दर्भमा आयोजित सहिद स्मृति मूल समारोह समितिको कार्यक्रममा बोल्दै उहाँले अब ऐन आउँछ कि आउँदैन भन्ने अन्यौलता अब हटेको बताउनुभयो । निजामती कर्मचारी विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा प्रवेश गरिसकेकोले अब विधेयक आउँछ कि आउँदैन भन्ने अन्यौलता अन्त्य भएको बताउनुभयो । ‘प्रतिनिधि सभाबाट त्यो विषय अगाडि बढेको छ, राष्ट्रिय सभामा त्यो विषय प्रवेश गरेको छ, प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेपछि राष्ट्रिय सभामा धेरै समय लगाउन मिल्दैन, त्यस हिसाबले निजामती कर्मचारी विधेयक आउने कुरा निश्चित भइसकेको छ’, उहाँले भन्नुभयो ।

निजामती कर्मचारीहरूको निरन्तरताको खबरदारीले सफलता हासिल गरेको भन्दै उहाँले पार्टीको तर्फबाट गर्नुपर्ने सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।

पोखरेलले नेपालको राष्ट्रिय राजनीति चुनौतीको अवस्थाबाट नयाँ सम्भावना तर्फ अघि बढेको बताउनुभयो । एमाले नेतृत्वमा अहिलेको सरकार बन्नु अगाडि समयमा तलब समेत नपाउने अवस्था बनेको बताउँदै आज देश त्यहाँबाट मुक्त भएर अघि बढेको उहाँले बताउनुभयो । ‘कर्मचारीलाई तलब समेत दिन नसक्नेहरू आज ठुला कुरा गर्दछन्, निजामती कर्मचारीलाई तलब दिन नसक्ने, निर्माण व्यवसायीलाई काम लगाएको पैसा दिन नसक्ने अवस्थामा पुगेको राज्य आज तपाईँहरूको अवस्था सुरक्षित छ भन्ने अवस्थामा पुगेको छ’, उहाँले भन्नुभयो ।

सरकारको तर्फबाट कानुन र संरचनागत सुधारका लागि अग्रसरता र नेतृत्व गर्ने काम पनि भएको उहाँले बताउनुभयो । सबै काम एक हप्ता भित्र हुनु पर्छ भन्ने कानुन बन्दा पनि नेपालको कर्मचारी संयन्त्र अहिले पनि कामकाजी बन्न नसकेको पोखरेलले बताउनुभयो ।

ढिला सुस्ती नेपालको प्रमुख समस्या भएको उहाँले बताउनुभयो । यसले राज्यलाई अरबौँ रुपैँया घाटा हुने गरेको उहाँले सुनाउनुभयो । यो देशको लागि महारोग भएको बताउँदै उहाँले यो रोगको अन्त्य कर्मचारी प्रशासनले मात्र गर्न सक्ने बताउनुभयो देशमा समृद्धिको यात्रालाई सफल पार्ने सबैभन्दा ठुलो संयन्त्र निजामती प्रशासन भएको पोखरेलले स्पष्ट पार्नुभयो ।

सबै क्षेत्रले आफ्नो कर्तव्य पुरा गर्दा मात्र देश सफल हुने बताउनुभयो । राज्यलाई बलियो बनाउन हरेक तप्काले कर्तव्यबोध गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो ।

सामाजिक अराजकता र अस्थिरता कायम रहँदासम्म समृद्धिको सपना पुरा हुन नसक्ने उहाँले बताउनुभयो । यसका लागि नेकपा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्ति बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।