काठमाडौँ : पूर्वमाओवादी नेतासमेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले नेपाली कम्युनिस्ट आन्दोलन पनि बिलाएर गएको रुसको कम्युनिस्ट पार्टी र आन्दोलनकै दिशामा अग्रसर भइरहेको टिप्पणी गरेका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली कुरा गर्दै गरेको पुरानो तस्बिर राख्दै उनले आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाएको आरोप लगाएका छन्।
‘अंग्रेजीमा एउटा चर्चित भनाइ छ- ‘वि लर्न फ्रम हिस्ट्री द्याट वि डु नट लर्न फ्रम हिस्ट्री’ अर्थात् ‘हामी इतिहासबाट यो सिक्छौँ कि हामी इतिहासबाट सिक्देनौँ’। नेपालको कम्युनिस्ट आन्दोलनमा यो हुबहु लागु हुन्छ भन्दा अतिशयोक्ति हुँदैन भट्टराईले लेखेका छन्, ‘मूलत: २०२८-३१ को झापा आन्दोलन र २०५२-०६२ को जनयुद्धको जगमा उभिएको नेपाली कम्युनिस्ट आन्दोलन संसारको पहिलो र करिब ७५ वर्षसम्म सत्तामा रहेर अहिले विलोप भएर गएको रुसको कम्युनिस्ट पार्टी र आन्दोलनकै दिशामा अग्रसर भइरहेको देखिनु बिडम्वनापूर्ण छ।’ यसको तीव्र वैचारिक स्खलन/बन्ध्याकरण र राज्यसत्ता सञ्चालनको प्रवृत्ति र अवस्था हेर्दा ब्रेजनेभ-काल (सन् १९६४-८२) को ‘इरा अफ स्टागनेसन (‘गतिहीन काल’ अर्थात् सुन्निएर मोटाएको जस्तो) सँग मिल्दोजुल्दो देखिएको टिप्पणी उनले गरेका छन्।
‘अर्थात् पटकपटक सत्तामा बस्दा पनि कुनै गुणात्मक र उल्लेख्य रूपान्तरणकारी उपलब्धि छैन तर गफ चाहिँ रुसका भूपू कमरेडहरूले मिति नै तोकेर ‘बीस वर्षभित्र साम्यवाद आउँछ’ भनेझैँ यहाँ पनि ‘समाजवाद/साम्यवाद’को डिङ हान्न र कार्यकर्ता अलमल्याउन भ्याएकै छन् भट्टराईले अगाडि भनेका छन्, ‘भित्री पार्टी सम्बन्ध अथवा सनातनी कम्युनिस्ट पदावलीअनुसार ‘अन्तर-पार्टी संघर्ष’को कुरा गर्दा यहाँ पनि स्टालिनको मुख्यत: सन् १९२७-३८ कालखण्डको ‘ग्रेट ट्रायल (टेरर?) को झल्को दिने गरी मूल नेतृत्वसँग आँखा जुधाउने वा उसको आलोचना गर्ने नेता-कार्यकर्तालाई विभिन्न आरोप लगाएर पार्टी र सत्ताबाट सदाको निम्ति बिदा गर्ने प्रवृत्ति उत्तिकै हावी छ।’
उनका अनुसार यस सन्दर्भमा अझै विडम्बनापूर्ण र हास्यास्पद प्रवृत्ति र घटना- जसरी रुसमा स्टालिनले लेनिनको पालादेखिका सबै प्रमुख समकक्षी र आफ्ना प्रतिस्पर्धी नेताहरूलाई पालैपालो भौतिक रूपले नै सफाया गरेका थिए (जस्तै: त्रोत्स्कीलाई सबभन्दा पहिले सन् १९२७ मा पार्टीबाट निष्कासन, १९२९ मा देशनिकाला र पछि विदेशमै हत्या; जेनोभिभ र कामेनेभलाई बिरालाले मुसा खेलाएझैँ पटकपटक पार्टीबाट निष्कासन र अन्त्यमा १९३६ मा हत्या; बुखारिन, रिकोभलगायतलाई त्यसरी नै अन्त्यमा १९३८ मा हत्या, आदि इत्यादि) हो।
भट्टराईले प्रश्न गरेका छन्, ‘त्यसकै झल्को आउने गरी अहिले नेपालका ‘कम्युनिस्ट’ मठाधीशहरूले पनि आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाउनु इतिहासको ठुलो विडम्बना नभए के होला त?’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले कम्युनिस्ट पार्टीका नेता-कार्यकर्तालाई इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ विकल्प खोज्न अपिल पनि गरेका छन्। उनले लेखेका छन्, ‘अझै पुरानै एकमनावादी, नोकरशाही केन्द्रीयतावादी कम्युनिष्ट पार्टीमा भावनात्मक ढंगले टाँसिएर बसिरहेका र पार्टी सुप्रिमोले पहिले एउटा कमरेडलाई ठोक्दा ताली पिट्ने अनि पछि आफ्नै पालो आउँदा एक्लै आँसु झार्ने साथीहरूले इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ वैकल्पिक बाटो खोजी र निर्माण गर्ने साहस गर्ने कि?’













प्रतिक्रिया दिनुहोस्