जनता टाइम्स

१६ श्रावण २०८२, शुक्रबार २२:१९

अहिलेको संविधानले गर्दा कुनै पनि पार्टीका बहुमत आउँदैन, संयुक्त सरकार बनाउनु पर्ने बाध्यता छ : शेरबहादुर देउवा 


काठमाडौं, १६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले सबै जातजाति र समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको बताउनुभएको छ ।

पार्टीको थारु विभागद्वारा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै देउवाले  कांग्रेसले पनि सबैलाई उचित सम्मान गर्दै आएको बताउनभयो ।  थारु समुदायको हक–हित र उत्थानका लागि कांग्रेस प्रतिबद्ध रहेको उहाँले बताउनुभयाे।

थारु विभागको गठनसमेत थारु समुदायप्रतिको सम्मान र समर्पणको प्रतीक भएको उहाँको भनाइ छ । ‘थारु समुदायलाई सम्मान गर्दै कांग्रेस अघि बढेको छ, थारु समुदायको समग्र विकास र उत्थान होस् भन्ने उद्देश्यले थारु विभाग गठन गरिएको हो, यो संगठनलाई समुदायको हक हितका लागि अधिकतम प्रयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

उहाँले हालको संविधानले एकल पार्टीलाई स्पष्ट बहुमत दिलाउने संरचना नरहेको उल्लेख गर्दै यसले सहकार्यको बाध्यता सिर्जना गरेको बताउनुभयाे।

‘हाम्रो संविधान सबैलाई जोड्ने खालको छ, जुन संविधान छ त्यसमा महिला, दलित, जनजाति, आदिवासी सबैलाई प्रतिनिधित्व गर्छ, यो समावेशी लोकतन्त्र भन्दा पनि हुन्छ वास्तवमा, तर यसमा एउटा समस्या पनि छ, संविधानले गर्दा कुनै पनि पार्टीको बहुमत आउँदैन, कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ, त्यो कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने हुनसक्छ, तर पार्टी एक भएर अगाडि बढेको ढङ्गमा बहुमत आउन पनि सक्छ’, उहाँले भन्नुभयो ।

देउवाले पार्टीभित्र एकता भएमा आगामी दिनमा बहुमत प्राप्त गर्न सकिने आशा व्यक्त गर्नुभयो ।  यसका लागि सिङ्गाे पार्टी एक ढिक्का भएर अघि बढ्नु पर्नेमा उहाँले जाेड  दिनुभयाे ।