जनता टाइम्स

२९ कार्तिक २०७६, शुक्रबार १४:०९

बङ्गलादेशका राष्ट्रपति हमिदको भ्रमण दलद्वारा चन्द्रागिरी अवलोकन


काठमाडौं, कात्तिक २९ । नेपालको चारदिने भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज भ्रमण दलका सदस्यसहित काठमाडौंको चन्द्रागिरी अवलोकन भ्रमण गर्नुभएको छ । भ्रमण दलमा रहनुभएका बङ्गलादेशका सांसद, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बङ्गलादेशकै परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, अन्य विशिष्ट व्यक्तिलगायत २७ जनाले अवलोकन भ्रमण गर्नुभएको हो ।

उहाँहरुलाई चन्द्रागिरी केबलकारमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महाप्रबन्धक अभिषेकविक्रम शाह, सञ्चालक अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गर्नुभएको थियो । भ्रमण दलका सदस्यले चन्द्रगिरि हिल्सको केबलकारमार्फत पुगेर प्राकृतिक सौन्दर्यको अवलोकन गर्नुभएको थियो । अध्यक्ष ढकालले उक्त लिमिटेडअन्तर्गत निर्मित विविध एकीकृत पर्यटकीय संरचनाका बारेमा जानकारी गराउनुभएको थियो ।

भ्रमणमा सहभागी बङ्लादेशका पाहुनाले चन्द्रागिरि क्षेत्रको प्रशंसा गर्दै यस भ्रमणबाट नेपालमा बङ्गलादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । चन्द्रागिरिको अवलोकन भ्रमणका लागि बङ्गलादेशका राष्ट्रपति हमिद चन्द्रागिरि जाने पूर्वनिर्धारित कार्यक्रम भने अन्तिम समयमा विशेष कारणले रद्द भएको थियो ।