इजरायल, साउन २६ । इजरायली सेनाले आइतबार गाजामा गरेको हवाई आक्रमणमा पत्रकारको भेषमा रहेका एक हमास नेताको हत्या गरेको दाबी गरेको छ । तर, अधिकारकर्मीहरूले भने उनी युद्धग्रस्त क्षेत्र गाजामा अग्रपंक्तिबाट रिपोर्टिङ गरिरहेका अलजजिराका पत्रकार भएको बताएका छन् ।
इजरायलले गाजा सिटीको पूर्वी भागमा पर्ने शिफा अस्पताल नजिकैको टेन्टमा आइतबार आक्रमण गरेको थियो । सो आक्रमणमा अल जजिराका चार पत्रकार र एक सहायकसहित पाँच जना मारिएका हुन । अस्पतालका एक अधिकारीका अनुसार सो आक्रमणमा अन्य दुई जनाको पनि मृत्यु भएको छ ।
मारिनेमध्येका २८ वर्षीय अनस अल शरिफलाई इजरायलले ‘पत्रकारको भेषमा काम गरिरहेको हमासको नेता’ भनेको हो । इजरायली सेनाले जारी गरेको एक विज्ञप्तिमा अल शरिफ हमास सेलको प्रमुख भएको उल्लेख छ । उनी इजरायली नागरिक र इजरायली सैनिकहरूमाथि रकेट आक्रमण बढाउन जिम्मेवार रहेको आरोप लगाइएको छ ।
पत्रकार संघ तथा अलजजिराले भने इजरायली आक्रमणबाट पत्रकारहरु मारिएको भन्दै घटनाको निन्दा गरेका छन् । अलजजिराका अनुसार अन्य मृतक पत्रकारहरूमा मोहम्मद कुरेकेह, इब्राहिम जाहेर र मोहम्मद नुफल थिए ।
पत्रकारहरूको अधिकारका लागि काम गर्ने समूह र संयुक्त राष्ट्रसंघका एक विज्ञले यसअघि नै अल शरिफको जीवन गाजाबाट गरिरहेको रिपोर्टिङका कारण जोखिममा रहेको बताएका थिए ।
जुलाईमा नै ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स’ (सीपीजे) ले पनि अल शरिफको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको थियो । उसले शरिफसहितका पत्रकार मारिएको घटनाको निन्दा गरेको छ ।













प्रतिक्रिया दिनुहोस्