जनता टाइम्स

२७ श्रावण २०८२, मंगलवार १३:३१

मुलुकको भविष्य निर्माण गर्ने जिम्मा अहिलेको पुस्ताको काँधमा : राष्ट्रपति रामचन्द्र पौडेल


काठमाडौँ, साउन २७ । राष्ट्रपति रामचन्द्र पौडेलले युवाको सम्मानजनक रोजगारी सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको बताउँदै स्वदेशमै उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय युवा दिवस २०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले युवाको रोजगारीको अधिकार सुनिश्चित नगरेसम्म उनीहरू विदेश पलायन हुन बाध्य हुने चेतावनी दिनुभयो । उहाँका अनुसार, आधुनिक युगमा युवाले चाहेको विकास, सुशासन र समृद्धिको सपना पूरा गर्नु आजको मुख्य कार्यभार हो, जसका लागि उद्यमशीलताको विस्तार अपरिहार्य छ । ‘उद्यमशीलता आर्थिक विकासको आधार हो, युवालाई स्वदेशमै रोजगारीतर्फ आकर्षित गर्ने नीति, कार्यक्रम र सहुलियतपूर्ण कर्जा प्रणालीलाई प्राथमिकता दिन आवश्यक छ’, उहाँले भन्नुभयाे ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भविष्य निर्माण गर्ने जिम्मा अहिलेको पुस्ताको काँधमा रहेको उल्लेख गर्नुभयो । आफ्ना युवा कालका अनुभव सुनाउँदै उहाँले राजनीतिक क्रान्ति र परिवर्तनको एउटा कालखण्ड पार गरेर वर्तमान राजनीतिक व्यवस्था स्थापित भएको स्मरण गर्नुभयो ।

राष्ट्रपतिले प्रविधिमा दक्ष नेपाली युवाको क्षमतालाई स्वदेशमै उपयोग गर्न अनुकूल वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन, लगानीमैत्री नीति र उद्यमशीलतालाई उपलब्धिमूलक बनाउन सरकार, निजी क्षेत्र र युवाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘युवाको क्षमता र श्रमलाई विदेशी बजारमा मात्र बेच्ने प्रवृत्ति रोकिएन भने देशको भविष्य खतरामा पर्छ ।’