जनता टाइम्स

२७ श्रावण २०८२, मंगलवार २१:३२

बच्चा, अशक्त र ९० वर्ष नाघेकालाई सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र चाहिँदैन, दुःख नदिऊँ : प्रजिअ रामेछाप 


रामेछाप, साउन २७ । सामाजिक सुरक्षा भत्ताको लागि बैङ्क खाता खोल्न बैङ्कहरूले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेका कारण अपाङ्गता भएका र असक्त नागरिकले सास्ती खेपेको गुनासो आएपछि रामेछाप प्रशासनले नागरिकलाई अनावश्यक सास्ती नदिन सरोकारवालालाई निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका बैङ्कहरूलाई पत्राचार गरी ज्येष्ठ र अशक्त नागरिकलाई बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न निर्देशन गरेको हो । नेपाल राष्ट्र बैङ्कको संशोधित निर्देशनअनुसार अशक्त र असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर नभए अन्य आवश्यक कागजात संलग्न गरेर समेत खाता खोल्न र कारोबार गर्न सक्ने प्रावधान रहेको कुरा स्मरण गराउँदै जिल्ला प्रशासन कार्यालये बैङ्कहरूलाई सोही अनुसार गर्न निर्देशन दिएको छ ।

निर्देशन कार्यान्वयन नगरेको पाइएमा सम्बन्धित निकायमा प्रतिवेदनसहित पठाउने चेतावनी नै स्थानीय प्रशासनले बैङ्कहरूलाई दिएको छ । अहिले राष्ट्रिय परिचयपत्र नभई बैङ्कहरूले खाता खोल्न नमान्ने र वडा कार्यालयहरूले सामाजिक सुरक्षा परिचयपत्र नवीकरण वा नयाँ सूचीकरण नगरिदिएको कारण राष्ट्रिय परिचयपत्र बनाउन दुःख खेपेर अशक्त तथा ज्येष्ठ नागरिकहरू जिल्ला सदरमुकाम आइरहेका छन् ।

गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सो विषयमा सबै स्थानीय तहलाई परिपत्र गरिसकेको अवस्थामा पनि ज्येष्ठ तथा अशक्त नागरिकलाई अनावश्यक दुःख दिनु राम्रो काम नभएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनुभयो ।

विभागले बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्ष उमेर कटेको नागरिकको हकमा राष्ट्रिय परिचयपत्र नभए पनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिन स्पष्ट निर्देशन दिएको थापाले बताउनुभयो ।

उहाँले सबै स्थानीय तहका वडा कार्यालयहरूलाई विभागको सोही पत्र अनुसार काम गर्न गराउन पनि आग्रह गर्नुभयो । ‘विभागले स्पष्ट परिपत्र गरेको छ, बालबालिका, अशक्त, असहाय र ९० वर्ष नाघेका नागरिकलाई सहज रूपमा सेवा प्रदान गरौँ, उहाँहरूलाई दुःख नदिऊँ’, उहाँले भन्नुभयो ।