रामेछाप, साउन २८ । तिलगंगा आँखा प्रतिष्ठानले आफ्नो कार्यक्षेत्रका जिल्लामा प्राथमिक अस्पतालमार्फत आँखा सेवा विस्तार गर्ने नीति अनुसार रामेछापको उमाकुण्ड गाउँपालिकामा पनि एकीकृत आँखा इकाई सञ्चालन गर्न सम्झौता गरेको छ।
यसका लागि तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा जिल्ला सर्जिकल आँखा केन्द्र, रामेछाप र उमाकुण्ड गाउँपालिकाबिच संयुक्त रूपमा सम्झौता पत्रमा हस्ताक्षर तथा आदान–प्रदान गरिएको हो। सम्झौता अनुसार उमाकुण्ड प्राथमिक अस्पतालमा आधुनिक उपकरणसहितको आँखा एकाइ स्थापना भई स्थानीयवासीले आधारभूतदेखि सेवा प्राप्त गर्ने सुविधा पाउनेछन्।
तिलगंगा आँखा प्रतिष्ठानका अनुसार यस एकीकृत आँखा एकाइ सञ्चालन भएपछि ग्रामीण भेगका नागरिकलाई आँखा उपचारका लागि अन्य सहर धाउनुपर्ने आवश्यकता कम हुनेछ। साथै, नियमित आँखा स्वास्थ्य परीक्षण, औषधि वितरण, चस्मा सेवा र आवश्यक परे सर्जिकल सेवा पनि सो अस्पतालमै उपलब्ध हुनेछ।
सम्झौतापछि आयोजक संस्थाका प्रतिनिधिहरूले यो पहलले उमाकुण्ड मात्र नभई आसपासका पालिकाका नागरिकलाई पनि लाभ पुर्याउने विश्वास व्यक्त गरेका छन्। सम्झौता कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार तिलगंगाका प्रतिनिधि लगायतकाले सहभागिता थियो ।













प्रतिक्रिया दिनुहोस्