जनता टाइम्स

१४ भाद्र २०८२, शनिबार २१:००

बेइजिङस्थित नेपाली राजदूतावासले भन्यो– प्रधानमन्त्री ओलीले लिपुलेकको मुद्दा दृढतापूर्वक उठाउनुभयो


काठमाडौं, १४ भदौ । बेइजिङस्थित नेपाली राजदूतावासले प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा लिपुलेकको मुद्दालाई दृढतापूर्वक उठाएको जनाएको छ।

सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुग्नुभएका प्रधानमन्त्री ओलीले शनिबार थियानजिनमा भएको द्विपक्षीय भेटवार्तामा उक्त विषयलाई प्राथमिकतामा राखेको राजदूतावासको भनाइ छ।

भेटपछि राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक पास हुँदै हुने सीमा व्यापारबारे हालै भएको चीन–भारत समझदारीप्रति प्रधानमन्त्रीज्यूले उक्त भूभाग नेपालको भएको र नेपाल सरकारले यसमा कडा आपत्ति जनाएको कुरा दृढतापूर्वक राख्नुभयो।’

विज्ञप्तिमा उल्लेख भएअनुसार, भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोगका लागि धन्यवाद दिँदै एससीओमा नेपालको सदस्यता प्राप्तिको आकांक्षामा चीनको सहयोगको अपेक्षा गर्नुभएको थियो । त्यसको जवाफमा राष्ट्रपति सीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा पूरा गर्न चीनले नेपाललाई सहयोग गर्ने इच्छा व्यक्त गरेको राजदूतावासले जनाएको छ।

उहाँले ‘एक चीन नीति’ प्रतिको नेपालको दृढ प्रतिबद्धताका लागि धन्यवाद दिँदै उच्च गुणस्तरका बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) का परियोजना कार्यान्वयनमार्फत नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत दोहोर्‍यानुभएको थियो । प्रधानमन्त्री ओलीले बीआरआई अन्तर्गतका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिन आग्रह गर्दै मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास जस्ता क्षेत्रमा सहयोगका लागि अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ।