-कृष्णहरि केसी-
मानव सभ्यताको इतिहास निरन्तर संघर्ष, परिवर्तन र सिर्जनाको कथाले अङ्कित छ। बिसौँ शताब्दी केवल राजनीतिक नक्सा बदल्ने युग मात्र होइन, यसले सामाजिक संरचना, मानव मूल्य, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्व व्यवस्थाका आधार नै रूपान्तरण गर्यो। द्वितीय विश्वयुद्धभन्दा अगाडिको इतिहास, विशेष गरी जापानी आक्रमणविरुद्धको चिनियाँ प्रतिरोध युद्ध (१९३१–१९४५) र विश्व फासिवादविरोधी युद्धको विजय, मानव सभ्यताको इतिहासमा निर्णायक मोड हो। यो विजय केवल चिनियाँ जनताको बलिदानको स्मरण मात्र होइन, आजको बदलिँदो भू–राजनीतिक परिस्थिति, विश्व शान्ति र साझा मानव भविष्यका लागि प्रेरणाको स्रोत पनि हो।
बिसौँ शताब्दीको प्रारम्भमा विश्वले नयाँ भू–राजनीतिक र आर्थिक प्रतिस्पर्धाको सामना गर्यो। औद्योगिक राष्ट्रहरूले बजार, स्रोतसाधन र रणनीतिक भूभागमा प्रभुत्व जमाउन तीव्र प्रतिस्पर्धा थाले। साम्राज्यवाद केवल आर्थिक प्रतिस्पर्धामा सीमित रहेन, यसले राजनीतिक र सैन्य वर्चस्वका द्वन्द्वलाई जन्म दियो। जापान, जर्मनी र इटालीले आफ्नो विस्तारवादी महत्त्वाकाङ्क्षा पूरा गर्न आक्रमण गरे भने ब्रिटेन, फ्रान्स, अमेरिका लगायतका शक्तिहरूले आफ्नो उपनिवेश रक्षा गर्न सङ्घर्षरत रहे। साम्राज्यवादकै चरित्रले १९३१ मा जापानी सेनाद्वारा मन्चुरिया कब्जा, १९३७ मा चीनमाथि पूर्ण युद्ध, र दोस्रो विश्वयुद्धको भयावह यात्रालाई जन्म दियो।
१९औँ शताब्दीको अन्त्यतिर जापानले तीव्र औद्योगिकीकरण र आधुनिकीकरणमार्फत आफूलाई एसियाको शक्तिशाली राष्ट्र बनायो। सिनो–जापान युद्ध (१८९५) र रुस–जापान युद्ध (१९०५) मा प्राप्त विजयले जापानको विस्तारवादी महत्त्वाकाङ्क्षा झन् बढायो। कोरिया र मन्चुरिया रणनीतिक र आर्थिक दृष्टिले महत्त्वपूर्ण थिए। जापान र रुसबिच कोरिया–मन्चुरिया विवादमा वार्ता असफल भएपछि युद्ध अपरिहार्य भयो। फेब्रुअरी ८, १९०४ मा जापानले पोर्ट थर्थरमा रुसी नौसैनिक बेडामा आक्रमण गर्यो। यसैक्रममा लियाओयाङ युद्ध (१९०४) मा जापानी सेना निर्णायक जित हासिल गर्यो र मुक्डेनको स्थल युद्ध (१९०५) पनि जापानी विजयमा परिणत भयो। सन् १९०५ मा भएको त्सुशिमा समुद्री युद्धमा जापानी नौसैनिक बेडा रुसी बाल्टिक फ्लीटलाई प्रायः पूर्ण रूपमा नष्ट गर्यो। युद्धपछि पोट्र्समाउथ सन्धि भयो जसमा जापानले कोरिया र मन्चुरियामा प्रभुत्व जमायो।
सन् १९३१ मा जापानी सेनाले मन्चुरिया कब्जा गरी “मन्चुकुओ” नामक कठपुतली शासन स्थापना गर्यो। यस आक्रमणले चीन मात्र होइन, सम्पूर्ण अन्तर्राष्ट्रिय प्रणालीलाई चुनौती दियो। मन्चुरियाको यो रणनीतिक र आर्थिक महत्त्व चीनको राष्ट्रिय सुरक्षा र राष्ट्रिय पहिचानसँग प्रत्यक्ष सम्बन्धित थियो। जापानी साम्राज्यवादले चीनको सम्पूर्ण पूर्वी तट र प्रमुख उद्योग क्षेत्रमाथि कब्जा जमाउने योजना बनाएको थियो।
१९३७ जुलाई ७ मा बीजिङ नजिकैको लुगोउ पुल घटनालाई बहाना बनाएर जापानले चीनमाथि पूर्ण युद्ध घोषणा गर्यो। यस घटनाबाट चीनभरि आठ वर्ष लामो प्रतिरोध युद्ध सुरु भयो। युद्धको प्रारम्भदेखि नै चिनियाँ जनताको बलिदान अत्यन्त ठुलो थियो। करिब ३५ मिलियन चिनियाँ नागरिक र सैनिक मारिए वा घाइते भए भने ९५ मिलियनभन्दा बढी मानिस विस्थापित भए। ६०० भन्दा बढी सहरहरू पूर्ण रूपमा नष्ट भए। हजारौँ सांस्कृतिक सम्पदा, पुस्तकालय, विद्यालय र धार्मिक स्थलहरू ध्वस्त भए। यो विनाशले युद्धको भयावहता मात्र होइन, साम्राज्यवादी आक्रमणको मानवतामाथिको दमनलाई पनि देखाउँछ।
चिनियाँ जनताको प्रतिरोधले राष्ट्रिय एकताको ऐतिहासिक क्षण प्रस्तुत गर्यो। आन्तरिक गृहयुद्धमा अल्झिएका कोमिन्ताङ र चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रिय हितलाई प्राथमिकता दिँदै संयुक्त मोर्चा निर्माण गरे। यसले जापानी सेनालाई लामो समयसम्म चीनमा अल्झाएर विश्व युद्धको सन्तुलन कायम गर्यो। चीनको दीर्घकालीन प्रतिरोधले जापानी सेनाको आधाभन्दा बढी शक्ति बाँधिरह्यो। यदि चीनले यस्तो दीर्घकालीन प्रतिरोध नगरेको भए, जापानी सेनाले आफ्नो शक्ति प्रशान्त महासागर, दक्षिण–पूर्व एसिया, र यहाँसम्म कि नेपाल र भारततर्फ केन्द्रित गर्न सक्थ्यो।
इतिहासकारहरूले चीनको यो प्रतिरोधलाई “एसियाली मोर्चाको आधारभूत स्तम्भ” भनेका छन्। अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी. रूजभेल्टले पनि चीनको योगदानको उच्च मूल्याङ्कन गर्दै भनेका थिए, “चीनको लामो सङ्घर्षबिना प्रशान्त युद्धको विजय सम्भव थिएन।” सोभियत संघ, बेलायत, र अमेरिका जस्ता मित्र राष्ट्रहरूले पनि चीनलाई युद्धको निर्णायक साझेदारको रूपमा मान्यता दिए।
चिनियाँ जनताको बलिदानले मित्र राष्ट्रलाई रणनीतिक फाइदा मात्र दिइन, यसले विश्व फासिवादविरोधी युद्धको सन्तुलन तय गर्न सहयोग गर्यो। चीनमा जापानी सेनाको दीर्घकालीन उपस्थितिले दक्षिण–पूर्व एसियामा कब्जा र युद्धको गति ढिलो गर्यो। परिणामस्वरूप मित्र राष्ट्रहरूले युरोप र प्रशान्त क्षेत्रमा व्यापक रणनीति सञ्चालन गर्न सफल भए।
अर्कोतर्फ, चिनियाँ प्रतिरोधले राष्ट्रिय भावना र एकता बलियो बनायो। कोमिन्ताङ र कम्युनिष्ट पार्टीबीचको साझा मोर्चाले स्थानीय जनतालाई लामो समयसम्म युद्धमा जुटाउने क्षमता प्रदान गर्यो। स्थानीय गाउँ, सहर, र पर्वतीय क्षेत्रहरूमा नागरिकहरूले सैनिक र असैनिक रूपमा समर्थन पुर्याए। महिलाहरू, वृद्धहरू र बालबालिकाहरूले खाद्यान्न आपूर्ति, गुप्त सूचना सङ्कलन, र घाइतेको हेरचाहमा महत्त्वपूर्ण भूमिका खेले। चीनको जनसङ्ख्या र संसाधनको व्यापक प्रयोगले जापानी सेनालाई भारी क्षति पुर्यायो।
यो प्रतिरोधले केवल चीनको भू–राजनीतिक सुरक्षा मात्र सुनिश्चित गरेन, विश्व शान्तिको लागि निर्णायक योगदान पनि दियो। पर्ल हार्बर आक्रमण अघि नै जापानी सेनाको मुख्य शक्ति चीनमा अल्झिसकेको थियो। यदि चीनले लामो समयसम्म प्रतिरोध नगरेको भए, जापानले प्रशान्त महासागर, दक्षिण–पूर्व एसिया, फिलिपिन्स, इन्डोनेशिया र यहाँसम्म कि भारततर्फ पनि आफ्नो विस्तार सुरु गर्न सक्थ्यो। यसैले चीनको सङ्घर्षले मित्र राष्ट्रलाई निर्णायक फाइदा पुर्यायो र द्वितीय विश्वयुद्धको परिणाममा सीधा प्रभाव पारेको छ।
विश्व फासिवादविरोधी युद्धको पृष्ठभूमि युरोपमा सुरु भएको थियो। १९३० को दशकमा नाजी जर्मनी, एडोल्फ हिटलरको नेतृत्वमा, र फासिस्ट इटाली, बेनिटो मुसोलिनीको नेतृत्वमा, युरोपभर आतङ्क फैलाउन थाले। उनीहरूको उद्देश्य केवल आफ्नो भू–राजनीतिक प्रभुत्व बढाउनु मात्र होइन, सम्पूर्ण विश्वलाई सैन्य विजयमार्फत नियन्त्रण गर्नु थियो। यसले युरोपका लोकतान्त्रिक राष्ट्रहरूलाई युद्धको तयारीमा लगायो।
सोभियत संघको निर्णायक योगदान द्वितीय विश्वयुद्धको मोड निर्माणमा महत्त्वपूर्ण रह्यो। १९४२–४३ को स्टालिनग्राद युद्धमा रेड आर्मीले नाजी सेनालाई निर्णायक पराजय दियो। यो युद्धलाई विश्व इतिहासमा दोस्रो विश्वयुद्धको “टर्निङ पोइन्ट” मानिन्छ। यससँगै मित्र राष्ट्रहरू युरोपको पश्चिमी मोर्चामा नर्माण्डी आक्रमण (१९४४) मार्फत स्वतन्त्रता बहाल गर्न सफल भए।
एसियामा, चीन, अमेरिका र सोभियत संघले जापानलाई रणनीतिक रूपमा घेराबन्दीमा ल्याए। चीनको लामो प्रतिरोध, जसले जापानी सेनाको आधाभन्दा बढी शक्ति बाँधेर राख्यो, प्रशान्त क्षेत्रमा मित्र राष्ट्रहरूको विजय सुनिश्चित गर्न निर्णायक साबित भयो। अमेरिका, बेलायत र सोभियत संघले मिलेर जापानलाई घेराबन्दीमा राखे, जसले अन्ततः हिरोसिमा र नागासाकीमा परमाणु बम प्रहारपछि जापानलाई आत्मसमर्पण गर्न बाध्य बनायो।
द्वितीय विश्वयुद्धमा अनुमानित ७०–८५ मिलियन मानिस मारिए, जुन त्यति बेला विश्व जनसङ्ख्याको करिब ३% थियो। चीनमा मात्र ३५ मिलियनभन्दा बढीको मृत्यु वा घाइते भएको तथ्याङ्क छ। सोभियत संघमा करिब २७ मिलियन मानिस मारिए। युरोपमा, युद्धले लाखौँ नागरिक र सैनिकको जीवन लिए। यसका साथै ९५ मिलियनभन्दा बढी मानिस विस्थापित भए। हजारौँ सहर, सांस्कृतिक सम्पदा, पुस्तकालय र विद्यालयहरू ध्वस्त भए। यसले युद्धको भयावहता मात्र होइन, मानव सभ्यतामा पर्न गएको ठुलो सङ्कट देखाउँछ।
विजयपछि विश्वव्यापी संरचना नयाँ ढङ्गले निर्माण भयो। १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको स्थापना भयो। यस संस्थाले विश्वव्यापी शान्ति, सुरक्षा, र सहकार्यको आधार तयार गर्यो। नुरेम्बर्ग र टोकियो ट्रायल मार्फत युद्ध अपराधीलाई न्यायको कठघरा पुगे। यसले अन्तर्राष्ट्रिय कानुनी दृष्टान्त स्थापित गर्यो कि युद्ध अपराध दण्डनीय हुन्छ। युद्धपश्चात् एसिया र अफ्रिकामा स्वतन्त्रता आन्दोलन तीव्र भयो। भारत (१९४७), इन्डोनेसिया (१९४९) र अफ्रिकी देशहरूले स्वतन्त्रता प्राप्त गरे। १९४८ मा संयुक्त राष्ट्रसंघले मानव अधिकार सार्वभौम घोषणा पत्र जारी गर्यो, जसले विश्वभर मानव अधिकार र स्वतन्त्रताको आधार तय गर्यो।
चिनियाँ प्रतिरोध र द्वितीय विश्वयुद्धको विजयले केवल सैन्य परिणाम मात्र दिएन, मानव सभ्यतामा गहिरो सामाजिक, राजनीतिक र कूटनीतिक प्रभाव पनि छोड्यो। चीनले गृहयुद्ध, विभाजन र पुनर्निर्माणका चुनौतीहरू भोग्यो, तर १९४९ मा चिनियाँ जनगणतन्त्र स्थापना पछि शान्तिपूर्ण विकास र अन्तर्राष्ट्रिय सहकार्यलाई आफ्नो नीति बनायो। चीनले संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सक्रिय भूमिका खेल्यो, आपतकालीन राहत र विकास सहयोगमा योगदान दियो, र बेल्ट एन्ड रोड इनिसिएटिभमार्फत परस्पर सहकार्य र विकासमा जोड दियो।
चीनले अघि सारेको “मानव जातिको साझा भविष्य” अवधारणा द्वितीय विश्वयुद्धको अनुभवमै आधारित रहेको देखिन्छ। इतिहासले सिकाउँछ कि सहकार्य, साझा सुरक्षा र एकता बिना विश्वव्यापी चुनौती सामना गर्न सकिँदैन। चीनले विजय प्राप्त गरेको सङ्घर्षले मानव सभ्यतालाई शान्ति, सहकार्य र साझा समृद्धिको महत्त्व सिकाएको छ। सेप्टेम्बर ३ मा चीनले करिब ५० भन्दा बढी देशका राष्ट्र प्रमुखको उपस्थितिमा ८०औँ वार्षिकोत्सव भव्य रूपमा मनाउँदै छ।
द्वितीय विश्वयुद्धको विजयपछि चीनले गृहयुद्ध र विभाजनका कठिनाइहरू भोग्यो। आन्तरिक संघर्ष, राजनीतिक अस्थिरता र सामाजिक पुनर्निर्माणको चुनौती चीनको सामर्थ्य परीक्षण गर्यो। तर १९४९ मा चिनियाँ जनगणतन्त्र स्थापना भएपछि चीनले शान्तिपूर्ण विकास र अन्तर्राष्ट्रिय सहकार्यलाई आफ्नो प्राथमिक नीति बनायो। यसले केवल राष्ट्रिय पुनर्निर्माणमा मात्र नभई, विश्व राजनीतिमा चीनको स्थायी भूमिकाको आधार पनि तयार गर्यो।
चीनले युद्धपश्चात्को पुनर्निर्माणमा शिक्षा, उद्योग, स्वास्थ्य र पूर्वाधारमा विशेष जोड दियो। सांस्कृतिक र सामाजिक संरचनाको पुनर्निर्माणले जनताको जीवनस्तर सुधार गर्न मद्दत पुर्यायो। चीनको नेतृत्वले सधैँ राष्ट्रिय हित र अन्तर्राष्ट्रिय जिम्मेवारीलाई सँगै राख्दै आर्थिक समृद्धि र स्थायित्वमा केन्द्रित नीति अघि बढायो।
चीनको शान्तिपूर्ण विकास रणनीति आज पनि वैश्विक सन्दर्भमा महत्त्वपूर्ण छ। “मानव जातिको साझा भविष्य” अवधारणाले विश्वका सबै राष्ट्रसँग समानता, सहकार्य र साझा लाभमा जोड दिन्छ। यो अवधारणा द्वितीय विश्वयुद्ध र जापानी आक्रमणविरुद्धको चिनियाँ प्रतिरोधको अनुभवमै आधारित छ। इतिहासले देखाउँछ कि एकताको अभाव र आक्रामक राष्ट्रवाद पुनः उदय हुँदा मानव सभ्यता संकटमा पर्न सक्छ।
आजको विश्व धेरै चुनौतीहरूबाट गुज्रिरहेको छ-जलवायु सङ्कट, महामारी, आणविक हतियार, दिगो विकास र आर्थिक असमानता। यी समस्याहरूको समाधान एक राष्ट्रले मात्र गर्न सक्दैन। द्वितीय विश्वयुद्धको अनुभवले सिकाउँछ कि सामूहिक सुरक्षा, बहुध्रुवीय सहकार्य र साझा प्रयास नै यथार्थपरक उपाय हुन्। चीनको इतिहास र आजको कूटनीतिक भूमिका यस सिद्धान्तको स्पष्ट उदाहरण हो।
चीनले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति मिसन, आपतकालीन राहत, विकास सहयोग र वैश्विक परियोजनाहरू जस्तै बेल्ट एन्ड रोड इनिसिएटिभ मार्फत विश्वसँग सहकार्य गर्दै आएको छ। यसले चीनको अनुभव, बलिदान र शान्ति निर्माणको योगदानलाई आजको विश्वले मूल्याङ्कन गर्न सकेको छ।
इतिहास स्मरण गर्नु केवल अतीतलाई सम्झनु मात्र होइन, भविष्यलाई सुरक्षित गर्ने प्रतिबद्धता पनि हो। जापानी आक्रमणविरुद्धको चिनियाँ प्रतिरोध र विश्व फासिवादविरोधी विजयले मानव जातिलाई सम्झाउँछ कि शान्ति, सहकार्य र साझा समृद्धिका लागि बलिदान अपरिहार्य हुन्छ। भावी पुस्ताले यस इतिहासबाट पाठ सिकेर, शान्ति र विकासलाई निरन्तर अगाडि बढाउनुपर्ने आवश्यकता छ।
सेप्टेम्बर ३ मा चीनले भव्य समारोहमार्फत ८०औँ वर्षगाँठ मनाउँदै गर्दा यो केवल चीनको विजय मात्र होइन, मानव जातिको साझा उपलब्धि र सहअस्तित्वको प्रतीक पनि हो। यस दिवसले विश्वलाई याद दिलाउँछ कि कुनै राष्ट्रले एक्लै ठुलो चुनौती सामना गर्न सक्दैन, तर साझा प्रयास, एकता र सहकार्यले मानव सभ्यताको रक्षा सम्भव छ।
जापानी आक्रमणविरुद्धको चिनियाँ प्रतिरोध युद्ध र विश्व फासिवादविरोधी विजय मानव इतिहासको एउटा महत्त्वपूर्ण अध्याय हो। यो केवल सैन्य विजय होइन, मानव सभ्यताको रक्षा, स्वतन्त्रताको पुनर्जन्म र शान्ति–सहकार्यको प्रारम्भ पनि हो। ८० वर्षपछि पनि यसको स्मरण आवश्यक छ, किनकि यसले मानव जातिलाई सम्झाउँछ कि शान्ति र समृद्धि सजिलै प्राप्त हुँदैन। यसको लागि बलिदान, धैर्यता, रणनीति र साझा प्रयास अपरिहार्य हुन्छ।
इतिहासले देखाउँछ कि बलियो राष्ट्रिय एकता, साझा उद्देश्य र अन्तर्राष्ट्रिय सहकार्य बिना ठुलो चुनौतीलाई परास्त गर्न सम्भव छैन। चीनको दीर्घकालीन प्रतिरोधले मात्र जापानी साम्राज्यवादलाई रोकेको छैन, यो विश्व युद्धको सन्तुलन परिवर्तन गर्ने निर्णायक भूमिका पनि निभाएको छ। चीनको बलिदानले मित्र राष्ट्रहरूलाई समयको आवश्यकता अनुसार रणनीतिक लाभ दिएको छ र द्वितीय विश्वयुद्धको परिणाममा स्थायी प्रभाव पारेको छ।
विश्व फासिवादविरोधी युद्धको विजयले केवल सैनिक परिणाम मात्र होइन, मानव सभ्यतामा गहिरो सामाजिक, राजनीतिक र कानुनी प्रभाव छोड्यो। संयुक्त राष्ट्रसंघको स्थापना, युद्ध अपराधको न्यायिक कारबाही, उपनिवेशवाद अन्त्य र मानव अधिकारको सार्वभौमिक घोषणा यस विजयका प्रत्यक्ष परिणाम हुन्। यी उपलब्धिहरूले विश्वव्यापी न्याय, समानता र शान्ति सुनिश्चित गर्ने आधार तयार पारे।
चीनले गृहयुद्ध, विभाजन र पुनर्निर्माणको कठिनाइ सामना गर्दै शान्तिपूर्ण विकास र साझा सहकार्यलाई प्राथमिक नीति बनायो। “मानव जातिको साझा भविष्य” अवधारणा द्वितीय विश्वयुद्धको अनुभवमा आधारित छ र आजको बदलिँदो वैश्विक परिप्रेक्ष्यमा अत्यन्त सान्दर्भिक छ। यो अवधारणाले शान्ति, साझा सुरक्षा, दिगो विकास र मानव सभ्यताको स्थायित्व सुनिश्चित गर्नको लागि बहुध्रुवीय दृष्टिकोण आवश्यक रहेको देखाउँछ।
आज विश्व जलवायु सङ्कट, महामारी, आणविक हतियार र आर्थिक असमानतासँग जुधिरहेको छ। यी चुनौतीहरूको सामना एक राष्ट्रले मात्र गर्न सक्दैन। द्वितीय विश्वयुद्धले सिकाएको छ-सहकार्य, साझा सुरक्षा, र एकता बिना ठुलो चुनौतीलाई परास्त गर्न असम्भव छ। इतिहास स्मरण गर्नु भनेको केवल अतीत सम्झनु मात्र होइन, भविष्य सुरक्षित गर्नु र भावी पुस्तालाई मार्गदर्शन गर्नु पनि हो।
सेप्टेम्बर ३ मा चीनले करिब ५० भन्दा बढी राष्ट्र प्रमुखको उपस्थितिमा भव्य ८०औँ वर्षगाँठ मनाउँदै छ। यो केवल चीनको विजयको प्रतीक होइन, सम्पूर्ण मानव जातिको साझा उपलब्धि, शान्ति र सहअस्तित्वको प्रमाण पनि हो। यस दिवसले मानव सभ्यतालाई सम्झाउँछ कि बलिदान, धैर्यता, साझा प्रयास र अन्तर्राष्ट्रिय सहयोगले मात्र शान्ति र समृद्धि सम्भव छ।
निष्कर्षमा, जापानी आक्रमणविरुद्धको चिनियाँ प्रतिरोध र विश्व फासिवादविरोधी विजय मानव सभ्यताको रक्षा, स्वतन्त्रताको पुनर्जन्म र शान्ति–सहकार्यको आधारभूत स्तम्भ हो। यसको स्मरणले केवल विगत सम्झाउने काम गर्दैन, भविष्यका चुनौतीसँग जुध्ने मार्गदर्शन पनि दिन्छ। भावी पुस्ताले यस इतिहासको बलिदान र पाठलाई सम्मान गर्दै, शान्ति, साझा विकास र मानव सभ्यताको स्थायित्वलाई निरन्तर अगाडि बढाउनुपर्छ।
(लेखक राष्ट्रिय युवा संघ नेपालका निर्वतमान केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ)













प्रतिक्रिया दिनुहोस्