जनता टाइम्स

४ मंसिर २०७६, बुधबार ०८:४९

न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्को बैठक आव्हान, यी व्यक्ति पर्ने सम्भावना


काठमाडौं, मंसिर ४

खाली रहेका उच्च अदालतका १२ न्यायाधीश नियुक्तिबारे छलफल गर्न न्यायपरिषदको बैठक बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले न्यायाधीश नियुक्तिको एजेण्डा राख्दै आज मध्यान्ह न्यायपरिषद बैठक डाक्नु भएको हो ।

प्रधानन्यायाधीश न्यायपरिषदको अध्यक्ष रहेकाले उहाले सबैलाई बुधबारको बैठकमा उपस्थित हुन भन्नुभएको छ । स्रोतका अनुसार कानुन मन्त्रालयबाट एक, महान्यायाधीवक्ता कार्यालयबाट एक, चार–पाँच जना अधिवक्ता र अरू जिल्ला न्यायाधीश वा अदालतका कर्मचारीबाट न्यायाधीश बनाइने सम्भावना बलियो छ ।

अहिलेसम्म न्यायाधीशका लागि को–कोलाई ल्याउने भनेर औपचारिक छलफल भने भएको छैन । बैठकमा प्रधानन्यायाधीशले नै एजेण्डा प्रस्तुत गरेपछि त्यसमा छलफल हुने र सहमति भए आजै नभए भोली नियुक्ति हुने सम्भावना बलियो रहेको छ ।

उच्च अदालतका लागि जिल्ला न्यायाधीशको रूपमा पाँचवर्ष काम गरेकोलाई वा अधिवक्ताको रूपमा निरन्तर कम्तिमा १० वर्ष वकालत गरेकोलाई वा कानुनको क्षेत्रमा निरन्तर १० वर्ष अध्यापन अन्वेषण गरेको वा राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारीको रूपमा कम्तिमा ५ वर्ष काम गरेको व्यक्तिलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ । केही समय अघि मन्त्रिपरिषदले थप गरेका जिल्ला अदालतका १७ न्यायाधीश पदको दरबन्दीबारे पनि न्यायपरिषदको बैठकमा छलफल हुने छ।