जनता टाइम्स

८ आश्विन २०८२, बुधबार ०८:४३

चाडबाडको बेला मुख्य राजमार्गकै दुर्दशा


चितवन, ८ भदौ । दसैं आगमनसँगै संघीय राजधानी काठमाडौंबाट बाहिरिनेको घुइँचो छ । तर यही बेलामा सडकको अवस्था बेहाल छ । काठमाडौंलाई पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोड्ने मुख्य सडकहरु पृथ्वीराजमार्ग र नारायणगढ मुग्लिन सडक पहिरोका कारणले घण्टौं बन्द हुने गरेका छन् । पहिरो सफा गरेर बल्लतल्ल गाडी खुलाए पनि केही समयपछि फेरि पहिरो खसेर बाटो छेक्ने गरेको छ ।पृथ्वीराजमार्गको धादिङ जवाङखोला नजिक मंगलबार बिहानै सुक्खा पहिरो खसेका कारण बन्द भएको यातायात खुल्न १८ घण्टा लाग्यो । जवाङको पहिरो खुलेर खुसी भएकाहरुले लगत्तै थाहा पाए नारायणगढ मुग्लिन सडक तुइनखोलामा पहिरो खसेर बन्द भइसकेको थियो ।तुइनखोलामा भदौ अन्तिमतिरबाट लगातारजसो पहिरो खसिरहेको थियो । पहिरो धेरै ठूलो नभएका कारणले सफा गरेर केहीबेरमै बाटो खुल्दै आएको थियो । तर असोजको सुरुकै दिन शुक्रबार साँझ खसेको पहिरोले लगातार ४५ घण्टा सडक अवरुद्ध गर्‍यो । आइतबार साँझ एकतर्फी खुलेको बाटो सोमबार दिउँसोदेखि मात्रै दुईतर्फी भएको थियो । बेलाबेलामा तुइनखोलामा सुक्खा पहिरो र सानाठूला ढुंगा झर्न रोकिएको थिएन । लगभग दुई दिन बाटो ठप्प हुँदा सडकमै रोकिएका हजारौं गाडी पार भएर सकिएकै थिएनन्, मुग्लिनदेखि पर धादिङको जवाङखोलामा अर्को पहिरो खस्यो ।तुइनको जाम खुले जवाङ खोलामा पहिरो झर्ने र जवाङको पहिरो सफा गरे तुइनखोलामा ढुंगा खस्ने क्रमले यात्रुलाई हैरानी दिएको छ । मंगलबार साँझ ५ बजेतिर तुइनखोलामा झनै ठूलो पहिरो खसेपछि ठप्प भएको सडक कहिले खुल्छ ? अन्योल छ ।
शनिबार बिहान त्यहाँ खसेको पहिरोले दुई दिन दिनभर बाटो छेक्दा पछिल्लो समय खसेको पहिरो पनि त्यही दिनको जत्रै रहेको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताउनुभयो ।