जनता टाइम्स

८ आश्विन २०८२, बुधबार २१:२३

सिन्धुपाल्चोकमा पहिरोमा परि दुई बालिका बेपत्ता


सिन्धुपाल्चोक, असोज ८ । सिन्धुपाल्चाेककाे बलेफीमा पहिराेमा परी दुई बालिका बेपत्ता भएका छन् ।

बुधबार दिउँसो करिब ४ः४५ बजे बलेफी गाउँपालिका–१, जलबिरेस्थित बलेफी–ढाँडे भित्री सडक खण्डमा पहिरोमा परि दुई बालिका बेपत्ता भएका हुन् । चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटेफुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेस्थित मामाघर जाँदै गरेकी १७ वर्षीया फुलमाया लामा र उहाँकी ५ वर्षीया बहिनी मनमाया लामा पहिरोमा परि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सडक माथिबाट आएको लेदोमिश्रित पहिरोले दुबैलाई बगाएको र सडकभन्दा तल ब्रह्मायणी नदी बगिरहेको प्रहरीले जनाएको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको कमाण्डमा १० जना प्रहरी टोली परिचालन भई खोजतलास जारी राखिएको भए पनि दुवै जना फेला नपरेको प्रहरीले जनाएको छ ।