काठमाडौं, असोज ९ । जेनजी आन्दोलनका नाममा देशभर नेकपा एमालेका पार्टी कार्यालय र कार्यकर्ताको सम्पत्ति लक्षित तोडफोड तथा आगजनी भएका छन्।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको बैठकका बारेमा जानकारी दिँदै पार्टीका महासचिव शंकर पोखरेलले हालसम्म प्राप्त विवरणअनुसार देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको बताए। सोही क्रममा पार्टीका नेता–कार्यकर्ताको १ सय ५८ भन्दा बढी निजी घर र व्यवसायमा पनि क्षति पुगेको उनले जानकारी दिनुभयाे।
महासचिव पोखरेलका अनुसार क्षति भएका अधिकांश पार्टी कार्यालयमा सरसफाइ र मर्मत–सम्भारको काम सुरु भइसकेको छ। ‘आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडबाट भएको क्षतिको सरसफाइ तथा मर्मत कार्यमा पार्टी कार्यकर्ताहरू स्वयम्सेवी भावनाका साथ सक्रिय भएका छन्,’ उहाँले भन्नुभयाे।
बैठकले प्रारम्भिक विवरणको समीक्षा गर्दै आक्रमणलाई ‘राष्ट्र, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको षड्यन्त्र’को रूपमा चित्रण गरेको छ। ‘बैठकले पार्टी कार्यालयहरू तथा पार्टीका नेता–कार्यकर्ताको निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरणको समीक्षा गर्यो, प्रारम्भिक विवरणअनुसार पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको पाईएको छ, त्यस्तै, पार्टीका नेता र कार्यकर्ताका १ सय ५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ, अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम सुरु भइसकेको छ, आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडवाट भएको क्षतिको सरसफाई र मर्मतको काममा पार्टी कार्यकर्ताहरु स्वयमसेवी भावनाका साथ परिचालित भइरहेका छन्’, उहाँले भन्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्