काठमाडौं, असोज ९ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानलाई सबै वर्ग, समुदाय र क्षेत्रले आफ्नो ठान्ने गरी परिमार्जन गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।
जनकपुरधाममा बिहीबार नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयको निरीक्षण तथा कार्यकर्ताहरूसँगको भेटघाटमा महामन्त्री शर्माले पटक–पटकको आन्दोलनकै परिणामस्वरूप प्राप्त संविधानलाई अझ सर्वस्वीकार्य बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले मधेसी, कर्णालीवासी, आदिवासी, जनजाति, थारु लगायत सीमान्तकृत समुदायलाई थप अधिकार सम्पन्न बनाउने खालको परिमार्जन आवश्यक रहेकोमा जोड दिनु भयो ।
महामन्त्री शर्माले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका मुद्दाहरूलाई सम्बोधन गर्न सरकारसँग माग गर्दै त्यस क्रममा पहिल्यै सुनिश्चित भएका अधिकार नमर्ने गरी अघि बढ्नुपर्नेमा ध्यानाकर्षण गराउनु भयो । उहाँले प्रतिनिधिसभा विघटनलाई दुःखद भन्दै जेनजी आन्दोलनको माग सम्बोधन गर्नु पर्नेमा त्यसलाई विघटनसँग जोड्नु गलत भएको स्पष्ट पार्नु भयो ।
उहाँले मधेस आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै जेनजी आन्दोलनका माग पूरा गर्न आग्रह गर्नु भयो । साथै, उहाँले जेनजी आन्दोलनको क्रममा राजनीतिक दलभित्र पुस्तान्तरणको विषयले व्यापक चर्चा पाएको भन्दै यसप्रति नेपाली कांग्रेसभित्र पनि छलफल भइरहेको बताउनु भयो ।
अर्को प्रसङ्गमा महामन्त्री शर्माले मधेस प्रदेश सरकारले अब नेपाली कांग्रेसको नेतृत्वमा अघि बढ्नुपर्ने धारणा राख्नु भयो । उहाँले मधेस प्रदेश स्वायत्तता भएको भन्दै त्यहाँको सरकार कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवको नेतृत्वमा बन्ने गरी पहल गर्नुपर्ने सुझाव दिनु भयो ।
यस सन्दर्भमा उहाँले हाल कार्यरत मुख्यमन्त्री सतीशकुमार सिंहलाई सरकारबाट मार्गप्रशस्त गर्न समेत आग्रह गर्नु भयो ।













प्रतिक्रिया दिनुहोस्