जनता टाइम्स

९ आश्विन २०८२, बिहीबार १९:५१

राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय, राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्र मातहतमा ल्याइने 


काठमाडौं, असाेज ९। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई सरकारका प्रवक्ता नियुक्त गरेको छ । बैठकपछि प्रवक्ता खरेलले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरूबारे जानकारी दिनुभयो ।

प्रवक्ता खरेलका अनुसार, २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदर्शनका क्रममा भाग्ने क्रममा मृत्यु भएका कैदी बन्दी र बाल बन्दीबाहेक, पहिचान खुलेका मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग दिइनेछ । साथै, काजक्रिया, खानपान र यातायात खर्चका लागि अतिरिक्त ५ लाख रुपैयाँ प्रदान गरिने निर्णय भएको हो ।

बैठकले सुरक्षण मुद्रण सम्बन्धी नियमावली, २०८२ स्वीकृत गरेको छ । सुरक्षित मुद्रण सम्बन्धी ऐन, २०८१ लाई कार्यान्वयनमा ल्याउन आवश्यक कानुनी व्यवस्था मिलाउन यो नियमावली ल्याइएको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

त्यस्तै, छापाखाना तथा प्रकाशन ऐन, २०४८ बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको जिम्मेवारी सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई स्थानीय अधिकारीका रूपमा तोक्ने निर्णय भएको छ । यससँगै अब अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत नभई सूचना विभागमार्फत नै सञ्चालन हुने व्यवस्था कायम भएको छ ।

यसैगरी, प्रधानमन्त्री कार्यालय मातहत रहेका राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा ल्याउने निर्णय गरिएको छ । त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्र मातहतमा ल्याइने निर्णयसमेत बैठकले गरेको छ ।