-नवराज पथिक-
रामेछाप, असाेज १७ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–५, सुनारपानी निवासी रामबहादुर साहीले गाउँमै फूल तथा इनडोर सजावटका बिरुवाको नर्सरी सञ्चालन गरी काठमाडौंमा बिक्री गरेर राम्रो आम्दानी लिनुभएको छ ।

उहाँले सञ्चालन गर्नुभएको भदौरे कालिका कृषि तथा पशुपन्छी फर्मले उत्पादन गरेका फूल, फलफूल तथा सजावटका बिरुवाहरू हाल काठमाडौंसहित देशका विभिन्न स्थानसम्म आपूर्ति हुने गरेका छन् । लामो समय बाँझै रहेको आफ्नो जग्गामा दुई वटा हाई–टेक टनेल (प्लास्टिक घर) निर्माण गरी उहाँले व्यावसायिक रूपमा बिरुवा उत्पादन तथा बिक्री सुरु गर्नुभएको हो ।

फर्ममा उत्पादन भएका अधिकांश बिरुवा काठमाडौंमै पठाइने फर्ममा कार्यरत कर्मचारीहरूले जानकारी दिनुभयो । कतिपय बिरुवा बिउ ल्याएर उमारिने र कतिपयको टिस्युकल्चरका साना बिरुवा ल्याएर हुर्काइ बिक्री गरिने उहाँले बताउनुभयो ।

जीवनभर कृषि र नर्सरीसँगै बिताउनुभएको साहीले केही समय अस्थायी जागिर खाए पनि २०४६ सालदेखि नै फूल खेती तथा नर्सरी व्यवसायमा संलग्न रहनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘मैले जीवनमा अरू कुनै काम गरेको छैन, जन्मदेखि नै कृषि क्षेत्रमा लागेँ ।’
२०५३ सालदेखि काठमाडौंमा आफ्नै नर्सरी सञ्चालन गर्दै आउनुभएका साहीले पछिल्ला वर्षमा उक्त नर्सरी छोराले सम्हाल्न थालेपछि गाउँमै फर्केर नर्सरी र फलफूल खेतीलाई निरन्तरता दिनुभएको छ ।

उहाँले नर्सरीसँगै गाउँमै ड्रागन फ्रुट खेती पनि विस्तार गर्नुभएको छ । हाल उहाँका बारीमा ८ सयभन्दा बढी ड्रागन फ्रुटका बोट छन् । यस वर्ष मात्रै ड्रागन फ्रुट फल बिक्रीबाट ६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान उहाँको छ ।

साहीका अनुसार ड्रागन फ्रुट प्रतिकिलो ३ सयदेखि ३ सय ५० रुपैयाँसम्ममा बगैँचाबाटै बिक्री हुने गरेको छ भने फूल तथा सजावटका बिरुवा भने सबै काठमाडौं पठाइन्छन् ।

यति बेला उहाँले आफ्नो खेतबारीमा मेवाको खेती पनि गर्नुभएको छ । मेवाले राम्रो फल दिन थालेपछि यसलाई पनि व्यावसायिक रूपमा विस्तार गर्ने योजना उहाँको छ ।













प्रतिक्रिया दिनुहोस्