काठमाडौं, असोज १९। निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि तोकिएको मनाङ–२ प्रदेशसभा ‘ख’ क्षेत्रको उपनिर्वाचन स्थगित गरेको छ। आइतबार बसेको आयोगको बैठकले हाल देशका विभिन्न स्थानमा जारी बाढी, पहिरो र विपद्का कारण निर्वाचनसम्बन्धी कार्य प्रभावित भएकाले तत्कालका लागि मिति स्थगित गर्ने निर्णय गरेको हो।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मनाङ र आसपासका जिल्लामा सडक सम्पर्क अवरुद्ध हुनुका साथै कर्मचारी परिचालन, सुरक्षा व्यवस्था र मतदाता शिक्षासम्बन्धी तयारीमा कठिनाइ देखिएकाले उपनिर्वाचन हालका लागि स्थगित गरिएको हो।
यो क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङ्गे) ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा दोषी ठहर भएपछि रिक्त भएको थियो। त्यसपछि आयोगले संविधान र कानुनअनुसार सो क्षेत्रको रिक्तता घोषणा गर्दै कात्तिक १७ गते उपनिर्वाचन गर्ने मिति तय गरेको थियो।
तर पछिल्ला प्राकृतिक विपद्का घटनाले मनाङसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा यातायात र संचार अवरुद्ध भएको, बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको र प्रशासनिक तयारीमा समेत कठिनाइ देखिएकाले तत्कालका लागि मिति सारिएको आयोगले जनाएको छ।
आयोगले परिस्थिति सामान्य भएपछि सम्बन्धित पक्षहरूसँग परामर्श गरी नयाँ मिति पुनः निर्धारण गर्ने बताएको छ। परिस्थिति सामान्य भएपछि आयोगले नयाँ मिति सार्वजनिक गर्ने जनाएको छ।












प्रतिक्रिया दिनुहोस्