जनता टाइम्स

२८ आश्विन २०८२, मंगलवार १७:३६

बिपी राजमार्ग मर्मत भएपछि खाँडादेवी आउने दर्शनार्थी बढे 


रामेछाप, असोज २८ । रोशी खोलामा आएको बाढीले बिपी राजमार्ग बन्द हुँदा घटेका खाँडादेवी आउने दर्शनार्थी सो राजमार्ग मर्मत भएसँग पुनः बढ्न लागेका छन् ।

दशैँको घटस्थापनादेखि तिहारको बिचमा सबैभन्दा धेरै दर्शनार्थी र बलि पूजा आउने खाँडादेवी मन्दिरमा गत असोज १७ गते रातिको वर्षाले बिपी राजमार्ग बगाएपछि दर्शनार्थीको सङ्ख्या घटनेको थियो । रोशी खोलामा आएको बाढीले बिपी राजमार्ग एक हप्तासम्म अवरुद्ध भएको थियो । सडक खुलेसँगै काठमाडौंबाट खाँडादेवी आउजाउ गर्ने बाटो सहज भएपछि दर्शनार्थीको सङ्ख्या बढेको हो ।

खाँडादेवी दर्शनको लागि देशैभरका मानिसहरू आउने गरे पनि मूलतः रामेछाप, सिन्धुली, ओखलढुङ्गा, दोलखा, काभ्रे र काठमाडौं उपत्यकाबाट धेरै मानिसहरू आउने गर्दछन् । रामेछाप र आसपासका जिल्लाका पनि धेरै दर्शनार्थी र उनीहरूका आफन्तहरू काठमाडौं बस्ने हुँदा काठमाडौं आउजाउ गर्ने सडक अवरुद्ध हुने बित्तिकै खाँडादेवीमा आउने बलि पूजा प्रभावित हुने गर्दछ ।

खाँडादेवी मन्दिरमा शनिबार र मंगलबार पञ्चवली र बलि पूजा लिएर आउने मानिसहरूको सङ्ख्या निक्कै हुने खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिनुभयो । मन्दिरमा बलि पूजा लिएर आउने भक्तजनहरूको पूजा व्यवस्थापनको सम्पूर्ण काम खाँडादेवी विकास कोषले गर्दै आएको छ । यसका साथै पुजारी व्यवस्थापन र समग्र मन्दिरको व्यवस्थापनको काम पनि कोषले गरिरहेको छ ।

खाँडादेवीमा बाह्रै महिना बली र पञ्चवली सहित पूजा लिएर मानिसहरू पुग्ने गर्दछन् । खाँडादेवीलाई भाकल गर्ने र सो पुरु भएपछि मन्दिरमा पूजा र बलि पूजा लिएर जाने प्रचलन रहँदै आएको छ ।

खाँडादेवीलाई किराँतकालीन देवी मानिन्छ । त्यसैले यसको इतिहास निक्कै पुरानो छ । खाँडादेवी मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । यसले यो मन्दिरको  यसको पुरातात्विक महत्त्व झल्काउँछ ।  त्यसैले पुरातत्त्व विभाग मार्फत पुरातत्त्व नखलबलिने गरी मन्दिरको पुनर्निर्माण तथा मन्दिर परिसरमा संरचना निर्माणको काम भएको छ ।

नेपाल एकीकरणको क्रममा राजा पृथ्वीनारायण शाहले खाँडादेवीसँग बल पुकारा गरेर विजय प्राप्त गरेपछि खाँडादेवीको सिला तीन पटकसम्म दरबार लैजान खोज्दा पनि बिच बाटोबाट नै अलप भई खाँडादेवी आएपछि दरबारको तर्फबाट नै खाँडादेवीलाई बलि दिने प्रचलन चलाएको भनाइ रहेको छ । खाँडादेवीमा रहेका गणेशलाई हाँस र कुखुराको पोथी, मङ्गलादेवीलाई भाले, भैरवीलाई राँगो, कमलामाईलाई परेवा र खाँडादेवीलाई बोका पाठी बलि दिने प्रचलन त्यस बेलादेखि नै रहँदै आएको छ ।

दरबारले पठाउँदै आएको पञ्चवली २००९ सालमा आएर रोकिएपछि पुजारीहरूले सरकारी पूजा गर्दै आएका थिए । २०७० सालमा खाँडादेवी विकास कोष स्थापना भएपछि अहिले सकारी पूजा सहित दैनिक नियमित पूजा, मन्दिर व्यवस्थापन तथा विभिन्न सामाजिक काम कोष मार्फत हुँदै आएको छ ।

मन्दिरमा दर्शनार्थी बढेसँगै फूल, प्रसादीकाे ब्यापार पनि फष्टाएकाे छ । त्यस्तै खाजाघरहरुमा मापनि दर्शन गर्न आउनेहरुकाे भिड देखिन गरेकाे छ । जसले गर्दा स्थानीय व्यापार प्रवर्रधनमा पनि सहयाेग पुगेकाे छ ।