-कृष्णहरि केसी-
चीनको सिचुवान प्रान्त भ्रमण गर्ने अवसर प्राप्त भयो । यो भ्रमण केवल एक साधारण यात्रा थिएन, यो चीनको सामाजिक, सांस्कृतिक र औद्योगिक प्रगतिको प्रत्यक्ष अध्ययन थियो ।
कार्यक्रमको उद्देश्य थियो-चीनको “मानवताको साझा भविष्य” (Community with a Shared Future for Mankind ) भन्ने अवधारणालाई नजिकबाट बुझ्नु, स्थानीय समुदाय, उद्योग, कृषि र शिक्षा क्षेत्रमा चीनले गरेको रूपान्तरण अध्ययन गर्नु, र त्यसबाट नेपाल जस्ता विकासशील राष्ट्रले सिक्न सक्ने पक्षहरू खोज्नु । उक्त क्षेत्र नेपालको भूगोलसँग मिल्दोजुल्दो थियो । त्यसैले पनि त्यहाँको भ्रमणले विशेष अर्थ राख्थ्यो ।
यस यात्राको पहिलो दिनदेखि नै चीनले “व्यवस्थित समाज, कार्यकुशल सरकार र जनमुखी विकास” कस्तो हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको देखियो । प्रकृति, प्रविधि, संस्कृति र समाजवादको जीवन्त प्रयोगशालाको जीवन्त अध्ययन अवलोकन गर्ने अवसर मिल्यो ।
सिचुवान प्रान्तको सामान्य परिचय
सिचुवान प्रान्त चीनको दक्षिण–पश्चिमी भू–भागमा अवस्थित विशाल र विविधतायुक्त प्रदेश हो । यसको राजधानी छेन्दु (Chengdu) हो । करिब ४,८६,००० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो प्रान्तमा ८ करोडभन्दा बढी जनसङ्ख्या रहेको छ । २१ सहरहरू र १८३ वटा काउन्टी रहेको यो प्रान्त क्षेत्रफलको हिसाबले चीनको तेस्रो ठुलो र जनसङ्ख्याका हिसाबले पाँचौँ ठुलो प्रान्तमा पर्दो रहेछ ।
सिचुवानलाई “स्वर्गको देश” (Land of Abundance ) पनि भनिँदो रहेछ । किनभने यहाँको प्राकृतिक स्रोत, कृषि उत्पादन, नदी, पहाड, र सांस्कृतिक विविधताले अत्यन्त समृद्ध रहेछ । सिचुवानमा मीन नदी, यालोङ नदी, र याङत्से नदीका उपनदीहरू बग्दा रहेछन् । यो प्रान्त चीनको खाद्य, जलविद्युत्, र औद्योगिक उत्पादनको मुख्य आधार रहेछ ।
सिचुवान केवल आर्थिक दृष्टिले मात्रै होइन, ऐतिहासिक र सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण छ । यहीँबाट चीनको प्रसिद्ध ऐतिहासिक उपन्यास “तीन राज्यहरूको कथा” को ( Romance of the Three Kingdoms ) उत्पत्ति भएको हो भने कविताका ऋषि भनेर चिनिने दु फु, (शु सी) सु दोङ पो, लि बाई, झाङ दछियान, याङ सिउङ जस्ता चीनका महान् कविहरू, कलाकारहरू र विचारकहरू यस प्रान्तबाट धेरै उदाएका रहेछन् । चिनियाँ ताओवादको जन्मभूमिको रूपमा पनि सिचवान परिचित रहेछ ।
छेन्दु –पाण्डाको सहर र जैविक संरक्षणको प्रतीक
हाम्रो यात्राको पहिलो गन्तव्य थियो- छेन्दुमा रहेको Giant Panda Breeding Research Base । विमानस्थलबाट झन्डै एक घण्टा ड्राइभपछि हामी हरियालीले ढाकिएको एक विशाल पार्कमा पुग्यौँ । छेन्दू जायन्ट पाण्डा प्रजनन अनुसन्धान केन्द्र ( Chengdu Research Base of Giant Panda Breeding) चीनको सिचुआन प्रान्तमा १९८७ मा स्थापना भएको हो र संसारकै ठुलो पाण्डा प्रजनन केन्द्र मानिन्छ ।

यहाँ २०२४ सम्म २४४ जायन्ट पाण्डा रहेका छन् भने चीनमा २०२५ को अन्त्यसम्म, जङ्गली जायन्ट पाण्डाको सङ्ख्या लगभग १,९०० रहेको छ, जसको अधिकांश भाग सिचुआन प्रान्तमा पाइन्छ । यसका अतिरिक्त, कैदमा रहेका पाण्डाको सङ्ख्या लगभग ७२८ रहेको छ, जसमा चीनका विभिन्न चिडियाघर र अनुसन्धान केन्द्रहरूमा रहेका छन् । यसरी, चीनमा कुल पाण्डाको सङ्ख्या लगभग २,६२८ रहेको छ । चीनले पाण्डा संरक्षणका लागि ६७ वटा प्राकृतिक आरक्षित क्षेत्रहरू स्थापना गरेको छ, जसले जङ्गली पाण्डा आवासको ५३.८५% र जनसङ्ख्याको ६६.८५% को रक्षा गर्दछ । त्यो स्थान विश्व प्रसिद्ध छ-यस केन्द्रले अन्तर्राष्ट्रिय रूपमा अमेरिका र जापानसहितका देशहरूसँग प्रजनन र संरक्षणमा सहयोग गर्दै आएको छ ।
त्यहाँ वैज्ञानिकहरू पाण्डाको प्रजनन, स्वास्थ्य, र संरक्षणमा निरन्तर काम गरिरहेका छन् । पाण्डा हेर्दा ती प्राणीको स्वभाव साँच्चै अद्भुत लाग्थ्यो । उनीहरूको निश्चिन्तता, बाँस खानको लय, र खेलकुद गर्ने शैलीले सबैलाई मोहित पार्थ्यो । हामीले बच्चा पाण्डा ( Cub) देख्यौँ । उनीहरूलाई विशेष नर्सरीमा राखिएको थियो । त्यो दृश्यले वातावरण संरक्षण र जीवन सन्तुलनबारे गहिरो सन्देश दिइरहेको थियो ।
पाण्डा केन्द्रभित्र Panda Science Museum पनि छ, जसमा पाण्डाको उत्पत्ति, जीवनचक्र, र चीनको संरक्षण नीति प्रदर्शन गरिएको छ । त्यहाँ Eco-Education Program पनि सञ्चालनमा छ । जहाँ विद्यालयका बालबालिकालाई प्रकृति र जीव विविधताको महत्त्व बुझाइन्छ । छेन्दु सहरले जैविक संरक्षणलाई पर्यटनसँग जोड्ने उत्कृष्ट मोडेल बनाएको रहेछ । यहाँको व्यवस्थापन, सरसफाइ र शान्त वातावरणले चीनले प्राकृतिक सम्पदालाई कसरी दिगो विकाससँग जोडेको छ भन्ने बुझ्न सकिन्छ । दैनिक हजारौँ पर्यटकहरू यहाँ भ्रमण गरिरहेका हुँदा रहेछन् ।
छेन्दुको सौन्दर्य र आधुनिकता
छेन्दु केवल पाण्डाको मात्रै सहर होइन, यो चीनको आधुनिक सहरी व्यवस्थापनको उदाहरण हो । सडकहरू फराकिला र हरियालीले भरिएका छन् । रातको समयमा बत्तीहरूले सजिएको Tianfu Qm|uare र Jinli Ancient Qmreet मा जीवन रमाइलो ढङ्गले बगिरहेको हुन्छ ।
चीनको night Economy नीति छेन्दुमा स्पष्ट रूपमा देखिन्छ- बजार, रेस्टुरेन्ट, कला प्रदर्शन र सांस्कृतिक गतिविधि मध्यरातसम्म चल्छन् । छेन्दुको जनजीवनमा “आराम र दक्षता” सँगसँगै पाइन्छ । दयालुपन, मुस्कुराउने, र सांस्कृतिक रूपमा गर्विलो परिचय यहाँका मानिसको विशेषता रहेछ । स्थानीय खानामा प्रसिद्ध Ichuan Hotpot (मसलेदार झोल परिकार) र Mapo Tofu सबै पर्यटकका लागि अनुभवको विषय बन्दो रहेछ ।
पञ्जीहवा सिटी र जलविद्युत् यात्रा
छेन्दु पछि हाम्रो टोलीले अर्को गन्तव्य तय गर्यो- Panzhihua City (पञ्जीहवा सहर) । यो सहर सिचुवानको दक्षिण–पश्चिमी भागमा अवस्थित छ र चीनको प्रमुख औद्योगिक सहरमध्ये एक हो । यहाँ पुग्न झन्डै पाँच घण्टा लागेको थियो । यात्रा सडक मार्ग हुँदै भएको थियो । बाटामा देखिएका खेतबारी, नदी, र गाउँहरूले चीनको ग्रामीण जीवनको अनुशासन झल्काउँथ्यो । सडक सफा, गाडीहरू व्यवस्थित, र प्रत्येक गाउँमा सौर्य प्यानल, हावाबाट बिजुली निकाल्ने पङ्खा र हरित ऊर्जा उपकरणहरू देखिन्थे । पहाड, नदी र हरियालीले घेरेको यो सहर चीनको औद्योगिक विकासको एउटा उज्यालो उदाहरण हो ।
यो सहर यालोङ नदी (Yalong River) र जिन्शा नदीको सङ्गमस्थलमा रहेको छ । पञ्जीहवा चीनको पहिलो आधुनिक “संसाधन–आधारित औद्योगिक सहर” हो । १९६० को दशकमा माओत्सेतुङको नीतिअनुसार यस क्षेत्रलाई “औद्योगिक आधार” बनाइएको थियो । आज यो सहर इस्पात, टाइटेनियम, र भ्यानाडियम जस्ता धातु उत्पादनमा चीनकै अग्रणी स्थानमा रहेको छ । सहर सफा, सुव्यवस्थित र पहाडको बिचमा सुन्दर रूपमा फैलिएको छ । सहर भरी सौर्य बत्तीहरू, हरियो पार्कहरू र सार्वजनिक व्यायाम स्थलहरू देख्न सकिन्छ । चीनले औद्योगिक सहरलाई मात्र होइन, “मानव–मैत्री सहर” बनाउन सकेको स्पष्ट हुन्छ ।
एरलोङ नदीको इटर्नल हाइड्रोपावर स्टेसन– ऊर्जाको मन्दिर
हाम्रो अर्को गन्तव्य थियो Erlong River Eternal Hydropower Station. यो आयोजना चीनको दिगो ऊर्जा उत्पादनको उत्कृष्ट उदाहरण हो ।
त्यहाँको दृश्य साँच्चै मनमोहक थियो- विशाल बाँधको पर्खालबाट बग्ने पानी, चम्किने धातुका टर्बाइनहरू, र नियन्त्रित प्रणालीहरूको शान्त गतिविधि । हामीलाई परियोजनाका इन्जिनियरहरूले विस्तृत विवरण दिए । यो जलविद्युत् केन्द्रले सिचुवान र आसपासका पाँच सहरहरूलाई विद्युत् आपूर्ति गर्दो रहेछ ।
वार्षिक उत्पादन ३ अर्ब किलोवाट–घण्टा । तर सबैभन्दा प्रेरणादायी कुरा के थियो भने, त्यहाँको Green Energy नीति-पानीको पुनः प्रयोग, वन संरक्षण, र प्रदूषण न्यूनीकरण । त्यहाँको एउटा बोर्डमा लेखिएको थियो- Every drop of water lights a home, and every home lights the nation. पानीबाट उत्पादित ऊर्जा आधुनिक उद्योग, विद्यालय, र गाउँहरूमा पुग्छ । जसले चीनको ग्रामीण पुनर्जागरण ( Rural Revitalization ) योजनालाई सघाएको छ ।
त्यहाँ ऊर्जा उत्पादन मात्र होइन, पर्यावरण संरक्षण पनि उच्च प्राथमिकतामा रहेछ । “हरियो ऊर्जा, हरित भविष्य” भन्ने नारा बाँधको प्रवेशद्वारमै देखिन्थ्यो । हाइड्रोपावरको पानी पुनः प्रयोग प्रणाली र वनस्पति संरक्षण योजनाले पर्यावरण सन्तुलन कायम राखेको छ । हामीले ऊर्जा केन्द्रको नियन्त्रण कोठा पनि भ्रमण गर्यौँ । त्यहाँ कृत्रिम बुद्धिमत्ता (AI) र स्वचालित प्रणाली प्रयोग गरेर बाँधको पानी, दबाब र टर्बाइनको गति नियन्त्रण गरिँदो रहेछ । यो देख्दा लाग्यो- प्रविधि र प्रकृति दुवैलाई समान सम्मान दिने चीनको नीति सफल भइरहेको छ ।
हुन्साला गाउँ – संस्कृति, गीत र आत्मनिर्भरता
त्यसपछि हामी Hunsala Village पुग्यौँ । जो सिचुवानको ग्रामीण संस्कृति, सङ्गीत, र परम्पराको सुन्दर प्रतीक थियो। गाउँमा प्रवेश गर्दा नै स्वागतको स्वर सुनिन्थ्यो । स्थानीय महिलाहरूले परम्परागत पोसाकमा स्वागत गीत गाइरहेका थिए ।

हुन्सालामा स्थानीय उत्पादन र हस्तकलाका वस्तुहरू प्रदर्शन गरिएको थियो-बाँसका टोकरी, ढाकाका वस्त्र, माटाका भाँडा, र परम्परागत चित्रकला । त्यहाँको भोजन पनि विशेष थियो । घरमै उत्पादन गरिएको अन्न, जैविक सागपात, र तातो मिर्चयुक्त सिचुवानी परिकार ।
साँझतिर गाउँलेहरूले गीत र नृत्य प्रदर्शन गरे । त्यो केवल मनोरञ्जन मात्रै थिएन, त्यो गाउँको इतिहासको पुनरावृत्ति थियो । गीतहरूमा मेहनत, प्रेम, र एकता झल्किन्थ्यो । त्यहाँका युवाहरूले मोबाइल एप प्रयोग गरेर आफ्ना हस्तकलाका वस्तुहरू अनलाइन बेच्ने प्रयास गरिरहेका थिए- यो ग्रामीण उद्यमशीलताको नयाँ स्वरूप हो ।
हामीले गाउँमा गरिबी निवारणका लागि सञ्चालन भइरहेका परियोजनाहरूको पनि अवलोकन गर्यौँ । स्थानीय नेताहरूले बताए- पहिले यो गाउँमा गरिबी दर ३०% थियो, अहिले शून्यमा पुगेको छ । यो सम्भव भएको रहेछ- सामुदायिक सहकार्य, सरकारी सहायता, र डिजिटल व्यापारको संयोजनबाट ।
इसाला गाउँ र औद्योगिक यात्राको तयारी
हुन्सालाबाट केही किलोमिटर टाढा, हाम्रो अर्को गन्तव्य थियो Isala Village । यो गाउँ पहाडको बिचमा अवस्थित छ, जहाँ आधुनिक भवन र परम्परागत घरहरू एकसाथ देखिन्छन् । यहाँका मानिसहरू कृषि, पर्यटन, र हस्तकलामा निर्भर छन् । त्यहाँको विशेषता भनेको “कृषि र शिक्षा” बिचको संयोजन रहेछ ।
विद्यालयका विद्यार्थीहरूलाई बोटबिरुवा, माटो, र उत्पादनको बारेमा व्यवहारिक अध्ययन गराइँदो रहेछ । गाउँकै बगैँचामा बनाइएको Learning Farm मा बालबालिकाले खेत जोत्नेदेखि बाली काट्नेसम्मका कार्यहरू देखाइन्थे । त्यो दृश्यले नेपालका गाउँहरूमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न सके कति राम्रो हुन्थ्यो भन्ने लाग्यो ।
रेल र स्टिलको शक्ति – Pangang Group Steel, Vanadium & Titanium Co. Ltd
यस भ्रमणको सबैभन्दा ज्ञानमूलक र रोमाञ्चक भाग थियो रेल एण्ड बिम प्लान्ट अफ Pangang Group Steel Vanadium & Titanium Company Limited को भ्रमण । यो केवल एउटा कारखानाको होइन रहेछ यो त चीनको औद्योगिक आत्मनिर्भरताको प्रतीक रहेछ ।
कारखाना प्रवेश गर्दा सुरक्षा नियमहरू कडाइका साथ पालना गर्नुपर्थ्यो । हामीले विशेष हेलमेट, सुरक्षा जुत्ता, र सुरक्षात्मक कपडा लगायौँ । भित्र छिरेपछि विशाल स्टिल रडहरू, तातो फलामको बग्ने नदी, र रोबोटिक ह्यान्डलिङ प्रणालीले सबैको ध्यान खिच्यो । त्यहाँका प्राविधिकहरूले बताए- “हामीले यहाँ प्रयोग गर्ने भ्यानाडियम र टाइटेनियम मिश्र धातु विश्वकै उत्कृष्ट मानिन्छ । यसबाट रेल, पुल, र हाइड्रोपावर संरचनाका अत्यन्त मजबुत बीमहरू तयार हुन्छन् ।”
धेरै देशहरूमा रेल तथा रेलका लिगहरू निर्यात गर्ने यस उद्योगले केवल उत्पादन मात्र गर्दैन, यसले हजारौँ स्थानीय जनतालाई रोजगारी दिएको छ । औद्योगिक सहर र श्रमिक बस्तीबिचको संयोजन चीनको श्रम–संस्कारको उत्कृष्ट उदाहरण हो ।
त्यहाँको वातावरणीय व्यवस्थापन पनि अनुकरणीय थियो । धुलो नियन्त्रण प्रणाली, रासायनिक प्रशोधन एकाइ, र हरियाली पुनः रोपण कार्यक्रमले कारखानालाई वातावरणमैत्री बनाएको रहेछ । त्यो कारखानाबाट फर्कँदा मनमा एउटा भावनात्मक सोच उब्जियो- “चीनले आफ्नो विकास केवल प्रविधिबाट मात्रै होइन, अनुशासन, संगठन र सामूहिक भावना मार्फत सम्भव बनाएको रहेछ ।”
Pangang Group Qmeel Company संसारकै उत्कृष्ट स्टिल उद्योगमध्ये एक हो । त्यहाँ ३०,००० भन्दा बढी कामदार छन् र वार्षिक उत्पादन क्षमता १३ मिलियन टनभन्दा बढी छ ।
पुष्पको समुद्र – Asuda Four-Season Flower Sea
त्यसपछि हाम्रो यात्रा केही शान्त र रङ्गिन अध्यायमा प्रवेश गर्यो । हामी पुग्यौँ Asuda Four-Season Flower Sea। यो स्थान मानौँ प्रकृतिले बनाएको चित्रकला थियो । सयौँ किलो मिटर क्षेत्रफलमा फैलिएका फूलहरू- रातो गुलाब, पहेँलो ट्युलिप, बैजनी ल्याभेन्डर, सेतो डेज़ी, र हरिया झाडीहरू-सबै मिलेर सुन्दर रङ्गको इन्द्रेणी बनाउँथे । पानीका पोखरीहरूमा जडित यन्त्रहरूले पानीका फोहराबाट फूलहरू बनाइरहेका थिएँ । इन्द्रेणी पारिरहेको हुन्थ्यो । पर्यटकहरू त्यसको आनन्दमा नकराई बस्नै सक्दैनथे । त्यहाँको हावा सुगन्धले भरिएको थियो, वातावरणमा सजीवता झल्किन्थ्यो । त्यो ठाउँ केवल पर्यटन स्थल मात्रै होइन, आर्थिक दृष्टिले पनि महत्त्वपूर्ण थियो । स्थानीय किसानहरूले फूल खेतीमार्फत आम्दानी गरिरहेका थिए । फूलहरूबाट तेल, सौन्दर्य प्रसाधन, र सुगन्धित उत्पादनहरू तयार पारिन्थे ।
त्यहाँको Four-Season अवधारणा आकर्षक थियो । वसन्तमा ट्युलिप, गर्मीमा गुलाब, शरदमा क्रिसान्थेमम, र जाडोमा पाइन । अर्थात्, वर्षभरि नै फूलहरू फुल्ने गरी योजना बनाइएको थियो ।
हामीले स्थानीय गाइडसँग सोध्यौँ, “के यहाँका फूलहरू सबै प्राकृतिक छन् ?” उनले मुस्कुराउँदै भने, “प्रकृतिलाई प्रविधिले सघाएको छ, नक्कली बनाएको होइन ।” त्यो उत्तरले चीनको कृषि–प्रविधिको सन्देश दिएर गयो-“प्रकृति र विज्ञान जबसँगै हिँड्छन्, तब सुन्दरता स्थायी बन्छ ।”
असुदा फूल बगैँचामा ५०० भन्दा बढी प्रजातिका फूलहरू छन् । वसन्तमा ट्युलिप, गर्मीमा गुलाब, शरदमा क्रिसान्थेमम, र जाडोमा पाइन फूल । हजारौँ मानिसले त्यहीँबाट जीविकोपार्जन गर्छन् ।
जिङ्सान प्राचीन सहर – इतिहास र आधुनिकताको सङ्गम
फूलको समुद्रपछि हाम्रो अर्को गन्तव्य थियो Jingshan Ancient City । यो सहर चीनको प्राचीन सभ्यताको जीवित सङ्ग्रहालय हो । यहाँ पुराना भवनहरूलाई मर्मत गरेर आधुनिक सांस्कृतिक केन्द्रमा रूपान्तरण गरिएको छ । पत्थरका गल्ली, ढुङ्गाका पुल, र बत्तीले झलमल्ल पुराना गल्लीहरूमा हिँड्दा लाग्थ्यो- मानौँ इतिहास बोलिरहेको छ । तर, ती गल्लीभित्र आधुनिक कफी पसल, पुस्तक पसल, र डिजिटल कला प्रदर्शनी पनि थिए । यो सहरले देखायो- “इतिहासलाई मेट्नु होइन, रूपान्तरण गर्नु चीनको सोच हो ।” त्यसैले चीनमा पुरानो संरचना नष्ट गरिँदैन बरु त्यसलाई नयाँ अर्थ दिइन्छ ।

जिङ्सानमा स्थानीय कलाकारहरूले पेन्टिङ, सुलेख, र मूर्तिकलाका प्रदर्शन गरे । हामीले केही कलाकारसँग संवाद पनि गर्यौँ-उनीहरूले भने, “हामी परम्परा बचाएर नयाँ पुस्तासँग कुरा गर्न खोज्छौं ।” यो कुरा केवल कला होइन, देशको नीति पनि हो- चीनले परम्परालाई “विकासको प्रेरणा” बनाएको रहेछ ।
सान्हे गाउँ– नयाँ पुस्ताको उज्यालो संसार
हाम्रो यात्रा अब सिचुवान प्रान्तको अर्को सुन्दर गाउँ, सान्हे गाउँ ( Sanhe Village ) तिर मोडियो । यो सानो तर सुन्दर बस्ती हरियाली, साना घर, र हँसमुख मानिसहरूले भरिएको थियो । यहाँको जीवनशैली सरल थियो, तर व्यवस्थापन निकै आधुनिक ।
सान्हे गाउँमा पुग्ने बित्तिकै देखिने कुरा थियो- स्वच्छता र हरियाली । हरेक घरको अगाडि फूल र सागबारी, र बाटोमा फोहोरको कुनै चिह्न थिएन । हामीले थाहा पायौँ, गाउँका बासिन्दाहरूले One Family One Garde कार्यक्रम अपनाएका रहेछन् । जसअनुसार हरेक घरले आफ्नो बगैँचा र फोहोर व्यवस्थापनको जिम्मा आफैँ लिन्छ । गाउँको केन्द्रमा रहेको Zhao Mi Community Kindergarten हाम्रो अर्को गन्तव्य थियो । यो बालबालिका केन्द्र वास्तवमै प्रेरणादायी थियो ।
झाओ मी सामुदायिक किण्डरगार्ड – साना हातहरूमा ठुलो सपना
विद्यालयमा प्रवेश गर्दा नानीहरूले रङ्गिन पोसाकमा, मुस्कुराउँदै Ni Hao! भन्दै स्वागत गरे । त्यहाँको वातावरण उज्यालो, खेलकुदमैत्री र अत्यन्तै व्यवस्थित थियो । शिक्षकहरूले हामीलाई बताए- “हामी बालबालिकालाई केवल अक्षर होइन, जीवनशैली सिकाउँछौँ- सफाइ, सहयोग, र देश प्रेम ।” कक्षा कोठाहरूमा STEAM शिक्षा ( Science, Technology, Engineering, Art, Mathematic ) का आधारभूत अभ्यासहरू समावेश गरिएको थियो । छोटा प्रयोगहरू, चित्रकला, र खेलका माध्यमबाट उनीहरूलाई सृजनात्मक सोचमा प्रोत्साहन दिइन्थ्यो ।
यदि नेपालका गाउँहरूमा पनि यस्ता सामुदायिक बालविद्यालय स्थापना गर्न सकियो भने, शिक्षा साँच्चिकै विकासको मेरुदण्ड बन्न सक्छ । विद्यालयको बगैँचामा स्थानीय उत्पादन र खेतीबारी देखाइएको थियो । बच्चाहरूले आफैँ रोपेको साग र फलफूल खाँदै गर्वका साथ भन्थे, “यो हाम्रो विद्यालयमा फलाएको हो ।” बालबालिकाले बनाएको सामग्री समेत हामीलाई तीनै नानीबाबुहरूको हातबाट उपहार दिइँदा अचम्मित र भावुक भइयो ।
गरिबी निवारण प्रदर्शनी हल – उपलब्धिको दस्ताबेज
हाम्रो अर्को गन्तव्य थियो Poverty Alleviation Exhibition Hall. यो प्रदर्शनी हलमा चीनले पछिल्ला दश वर्षमा गरिबी निवारणका लागि गरेको कामको दृश्य–दस्ताबेज देखाइन्थ्यो । प्रवेशद्वारमै लेखिएको थियो- No One Left Behind – Building a Moderately Prosperous Society.अर्थात् “कसैलाई पछाडि नछोडौँ– मध्यम समृद्ध समाज निर्माण गरौँ।”
प्रदर्शनीको पहिलो खण्डमा चीनका विभिन्न पहाडी क्षेत्रका पुराना तस्बिरहरू थिए- खाल्डाखुल्डी बाटो, कच्चा घर, र दुःखमा बाँच्ने मानिसहरू । तर त्यसको छेउमै राखिएका नयाँ तस्बिरहरूले अहिलेको रूपान्तरण देखाउँथे-पक्की घर, विद्युत्, सडक, विद्यालय, र अस्पताल । त्यहाँको मार्गदर्शकले बताए, “चीनले गरिबिलाई केवल आर्थिक समस्या होइन, सामाजिक जिम्मेवारीका रूपमा हेरेको हो ।” दोस्रो खण्डमा प्रदर्शनी डिजिटल थियो- इलेकट्रोनिक स्क्रिनमा हरेक प्रान्तको गरिबी निवारण तथ्याङ्क, सरकारी नीति, र नागरिक योगदान देखाइन्थ्यो ।

२०२० सम्म चीनले ९८ मिलियन जनतालाई गरिबीबाट मुक्त गरिसकेको छ । तीमध्ये ८० लाख सिचुवानमा मात्रै । अर्थात् सिचुवानमा मात्रै ८० लाखभन्दा बढी मानिस पाँच वर्षभित्र मध्यम वर्गमा प्रवेश गरेका रहेछन् । ती तथ्याङ्क मात्र होइन, त्यस पछाडिको मानवीय कथा हृदयस्पर्शी थियो । हामीले एउटा भिडियोमा देख्यौँ- पहाडमा बस्ने किसान परिवारले गाईपालन र फूल खेती गरेर गरिबीबाट मुक्त भएको कथा । आमाको आँखामा गर्वको चमक थियो । त्यो दृश्यले मनमा गहिरो सोच रोप्यो- “गरिबी केवल पैसाको अभाव होइन, अवसरको अभाव हो ।”
लौझिसाङ हाइस्कुल – नयाँ पुस्ताको जोस र अनुशासन
त्यसपछि हामी Laozhixiang Senior High School पुग्यौँ । यो विद्यालय अत्यन्तै व्यवस्थित र अनुशासित थियो । छात्र–छात्रा सबैले एकै किसिमको पोसाक लगाएका थिए, विद्यालय परिसरमा शान्ति र लगनशीलताको वातावरण थियो । विद्यालयका प्रधानाध्यापकले हामीलाई बताए- “हामी विद्यार्थीलाई तीन कुरा सिकाउँछौँ- सीप, सोच, र सदाचार ।”
कक्षा कोठाभित्र प्रविधियुक्त बोर्ड, रोबोटिक्स, र अन्तरक्रियात्मक अध्ययन प्रणाली देख्न सकिन्थ्यो । विद्यार्थीहरूले अंग्रेजीमा प्रस्तुतिका अभ्यास गरिरहेका थिए । कसैले चीनको कृषि, कसैले जलवायु परिवर्तनमा अनुसन्धान प्रस्तुत गर्दै थिए । त्यो देख्दा लाग्यो- चीनको भविष्य आजै तयार हुँदै छ, शिक्षाबाट सुरु भएर प्रविधिमा पुग्दै । विद्यालयको बाहिर ठुलो बोर्डमा लेखिएको थियो Education is the First Engine of National Rejuvenation. अर्थात् “शिक्षा राष्ट्र पुनर्जागरणको पहिलो इन्जिन हो ।” यो वाक्य केवल नारा होइन, चीनको आत्मा थियो ।
हुसन्ला गाउँ र डाँडा–पाखाको खेती प्रणाली
फेरि हामी फर्कियौँ ग्रामीण क्षेत्रतर्फ- यस पटक Hunsala Village पुनः पुग्यौँ, तर यसपालि कृषि प्रणाली अध्ययनका लागि । हामीले देख्यौँ आँपका बगैँचा नै बगैँचा । बगैँचा पनि के भनौँ बरु आँपका जङ्गलहरू देख्यौँ । खेतबारीहरू मैदानी भूभागमा धेरै टनेलाहरुले खेरिएका थिए । डाँडा–पाखा र जङ्गलका बिचमा आँपै आँपका बगैँचाहरू फैलिएका थिए । त्यो खेती प्रणाली अद्भुत थियो- टेरेस फार्मिङ ( Terrace Farming ) शैलीमा रोपिएका मकै, चिया, र फलफूलका बोटहरू । स्थानीय किसानहरूले बताए, “पहिले यहाँ खेती गर्न गाह्रो थियो, तर सरकारले सिँचाइ, सडक र बजार सुविधा दिएपछि हामी आत्मनिर्भर भयौँ ।”
त्यहाँका कृषि सहकारी संस्थाले किसानका उत्पादन बजारसम्म पुर्याउने काम गर्छ । कृषकहरूको आम्दानी बढेको छ, जीवनस्तर सुधारिएको छ, र गाउँको युवा विदेश जाने दर घटेको छ । त्यो देख्दा स्पष्ट भयो- चीनको Rural Revitalization योजना केवल नीति होइन, जनआन्दोलन हो ।
माओत्से तुङ र पाकिस्तानी बीउको कथा
हुनसालामा बस्दा स्थानीय गाइडले एउटा रोचक कथा सुनाए -“माओत्से तुङ जब पाकिस्तान भ्रमणमा गएका थिए, त्यहाँको एक स्थानीय फलको आँपको स्वाद उनलाई अत्यन्त मन पर्यो । त्यसपछि उनले त्यस फलको बीउ चीन ल्याए र खेती गर्न आदेश दिए ।” त्यो बीउ आज पनि सिचुवानका धेरै ठाउँमा रोपिन्छ । यो कथा केवल स्वादको होइन- “साझा संस्कृतिको आदानप्रदान” को प्रतीक बनेछ । उसले अब पाकिस्तानलाई नै जितेर आँप उत्पादन गरेछ । चीनले विदेशी ज्ञान, सीप र प्रविधिलाई आफ्नो माटोमा जरा बस्ने गरी रूपान्तरण गर्न सकेको छ । त्यसैले यहाँको विकास स्थायी र स्थानीय दुवै बनेको छ । आज त्यो फल यहाँको आत्मा बनेको छ । त्यो बीउ केवल फल होइन- विचारको बीउ हो, जसले समाजवादको जरा गाडिदियो ।
आँपको जङ्गलमा छिर्दा हरेक बोटमा सिँचाइ पुर्याइएको छ । ड्रोनबाट आवश्यक औषधोपचार गरिने प्रबन्ध मिलाइएको छ । साना साना रेलका लिकहरू आँप सङ्कलनका लागि तयार पारिएका छन् । बेमौसममा पनि उत्पादन गर्ने, भण्डारण गर्ने र प्रशोधन गर्ने गरिएको देख्दा वास्तवमा संसारले चीनबाट सिक्नै पर्छ भन्ने लाग्यो । आँपलाई बोटमा मात्रै हैन अब जुसमा, वाइनमा, चकलेटमा देख्न सकिने रहेछ । त्यहाँको खेर गइरहेको पाखो भूभाग र जङ्गल क्षेत्रलाई वास्तवमै सदुपयोग गरेको देख्दा मलाई फेरी पनि भन्न मन लाग्यो हरियो बन जनताको धनको नारा अब बदल्नै पर्छ र भन्नुपर्छ बहुउपयोगी बन जनताको धन ।

चीनको विकास मोडेल र नेपालको सन्दर्भ
यस यात्राबाट मैले बुझेँ- चीनको विकासको मूल मन्त्र “योजना, अनुशासन र जनसहभागिता” हो । यहाँका सरकार र जनता दुवै एकै दिशामा अघि बढ्छन् । नेपालका लागि यसबाट सिक्न सकिने कुरा धेरै छन् । दिगो विकासमा सरकार र समुदायको संयुक्त जिम्मेवारी, कृषि, शिक्षा र उद्योगबिचको समन्वय, र “मानवमुखी विकास” को नीति । यदि नेपालले चीनको अनुभवलाई स्थानीय सन्दर्भमा रूपान्तरण गर्न सक्यो भने, हाम्रो गाउँहरू पनि आत्मनिर्भर बन्न सक्छन् । आयातमा निर्भर हैन निर्यात गर्न समेत सक्षम हुनेछन् ।
निष्कर्ष – प्रकाश, परिश्रम र साझा भविष्य
सिचुवानको यात्राले मलाई केवल दृश्य र अनुभव मात्रै दिएन बरु जीवन र विकासबारे नयाँ दृष्टि दिएको छ । पाण्डाको शान्ति, गाउँको आत्मीयता, कृषिको उत्पादन, उद्योगको अनुशासन, शिक्षाको निष्ठा र प्रविधिको शक्ति- यी सबैले चीनको आत्मा देखाउँछन् । सिचुवानमा बत्तीको उज्यालो केवल सडकमा होइन, मानिसका मुटुमा पनि बलिरहेको छ ।
नेपाल–चीन मित्रता केवल भौगोलिकतामा मात्रै होइन, आदर्श र प्रेरणामा पनि निहित छ । यो भ्रमणले सिकायो- “विकास तब मात्र सम्भव हुन्छ, जब राष्ट्रले आफ्नो जनता, संस्कृति, र प्रकृतिलाई प्रेम गर्छ ।” म फर्कँदा विमानको सिटबाट म सिचुवानका पहाड हेर्दै सोच्थेँ- “प्रत्येक समाजमा उज्यालो पाउन सकिन्छ, यदि हामीले त्यसको दियोलाई जगाउन साहस गर्याैँ भने ।”













प्रतिक्रिया दिनुहोस्