जनता टाइम्स

१५ कार्तिक २०८२, शनिबार १४:२६

माओवादी-एकीकृत समाजवादी पार्टी विलयको पटाक्षेप : विचार, स्वार्थ र अस्थिर नेतृत्वको पुनरावृत्ति


– धिरज सुवेदी-

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बिच एकता गर्ने सहमति बनेको समाचार बाहिरिएसँगै नेपाली वाम राजनीतिमा फेरि एक पटक ‘विलय’को चर्चा चुलिएको छ। दुवै पार्टीका नेताहरूले कार्तिक मसान्तभित्रै नयाँ दल दर्ता गराउने तयारी गरिरहेका छन्। तर, यसलाई वास्तविक ‘एकता’ भन्दा पनि स्वार्थ र अवसरको राजनीतिक सौदाबाजीका रूपमा लिइएको विश्लेषण बढ्दै गएको छ।

यहाँ ‘विलय’ भन्ने शब्द प्रयोग गर्नुको कारण स्पष्ट छ- न नीति, न कार्यक्रम, न सैद्धान्तिक आधार, न त विचारधारात्मक समानता- यी मध्ये कुनै पनि कुरा मिलेको छैन। त्यसैले यो कदम माओवादीले आफूलाई अर्को पार्टीमा मिसाएको जस्तो र समाजवादीले आधा बाटो पार गरेर माओवादीमा शरण लिएको जस्तो देखिन्छ ।   विगतको इतिहासलाई हेर्ने हो भने दुई पार्टीका ठुला नेता प्रचण्ड र माधव अस्थिर नेता हुन् । यिनीहरू अर्काको नेतृत्व स्वीकार गर्न नसक्ने र आफ्नो अनुकूलताको लागि जे पनि गर्ने नेताको रूपमा पर्छन् । यहाँ यिनीहरूको विगतलाई छुट्टाछुट्टै चर्चा गर्नु पर्ने हुन्छ ।

प्रचण्ड र माओवादीको अस्थिर यात्रा

२०६४ सालको ऐतिहासिक संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ झण्डै आधा सिट जितेर आएको माओवादी २०७९ सम्म आइपुग्दा केवल प्रत्यक्ष  तर्फ १८ सिटमा सीमित रह्यो। त्यो पनि गठबन्धनको सहारामा। माओवादी कहिल्यै एकजुट हुन सकेन ।  यसको प्रमुख कारण स्वयं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन्।

प्रचण्डको नेतृत्वमा माओवादी पार्टी क्रमशः वैचारिक शून्यता, स्वार्थ, सत्ता मोह र अवसरवादको जालोमा फस्दै गयो। बाबुराम भट्टराई र मोहन वैद्य जस्ता शीर्ष सहयात्रीहरू पालैपालो अलग्गिए। पछि नेत्रविक्रम चन्द ‘विप्लव’ ले पनि ‘माओवादीले क्रान्तिकारी पन गुमायो’ भन्दै छुट्टै बाटो रोजे। गोपाल किराँती, आहुती, लेखराज भट्ट, बादल, टोपबहादुर रायमाझी, मणि थापा लगायतका नेताहरू पनि अलग्गिए वा एमालेतिर लागे।

युद्धकालमा भारतविरुद्ध ‘जनयुद्ध’ लडेको माओवादी अहिले भारतकै सहज राजनीतिक मित्र बन्नु, अमेरिकी एमसिसी परियोजना पारित गराउन अग्रणी भूमिका खेल्नु, र राजतन्त्रविरुद्धको आन्दोलनको नेतृत्व गरेका प्रचण्डले अहिले ‘राजतन्त्र पनि ठिकै हो’ भन्नु—यी सबैले माओवादीको विचारगत आत्मा हराएको प्रमाणित गर्छ।

प्रचण्डलाई सत्ताबाहेक अरू केही चाहिँदैन भन्ने बुझाइ अब जनमानसमा गढिसकेको छ। पार्टीभित्र ‘प्रचण्डको स्तुति नगर्नेले बस्न पाउँदैन’ भन्ने मान्यता जस्तै बनेको छ। जनार्दन शर्मा र सुदन किराँतीजस्ता नेताहरूलाई अहिले पाखा लगाइएको ताजा उदाहरण हो।

स्थानीय तहमा समेत प्रचण्डको प्रवृत्ति झल्किएको छ-युद्धकालीन दम्भ, नयाँ कार्यकर्तामाथिको तिरस्कार र ‘पुराना’ र ‘नयाँ’ बिचको विभाजनले संगठनको संस्कार नष्ट गरेको छ।

माधव नेपाल र समाजवादीको विखण्डित राजनीति

माधवकुमार नेपाल लामो समयसम्म एमालेको नेतृत्वमा रहँदा लोकप्रिय पार्टीलाई तेस्रो स्थानमा झार्ने मुख्य पात्रको रूपमा चिनिन्छन्। उनको नेतृत्वमा २०५४ सालमा एक पटक र २०७८ सालमा अर्को पटक एमाले फुट्यो। दुई दशकको अन्तरालमा पनि नेतृत्वको अस्थिरता, पदप्रेम र ‘म आफू नेतृत्वमा हुनै पर्छ’ भन्ने मानसिकता अपरिवर्तित रह्यो।

ज्ञानेन्द्र शाहको शासनकालमा प्रधानमन्त्री बन्ने लालसामा राजदरबारलाई दाम चढाउने, र ‘प्रतिगमन आधा सच्चिएको छ’ भन्दै ज्ञानेन्द्रलाई समर्थन गर्ने व्यवहारले एमालेको जनाधार कमजोर बनायो।

२०७८ मा पार्टी फुटाउँदा उनले ‘विधि र पद्धति पालना भएन’ भन्ने आरोप लगाए, तर आफैँले बनाएको नेकपा (एस) भित्र लोकतान्त्रिक अभ्यासलाई पैतालोले कुल्चिए। उनले मनपरी कमिटी बनाए, आफू निकट नेताहरूलाई मात्र जिम्मेवारी दिए, असहमतहरूलाई पाखा लगाए। फलस्वरूप झलनाथ खनाल, घनश्याम भुसाल, रामकुमारी झाँक्रीजस्ता नेताहरू उनीबाट टाढिए।

नेकपा एमाले विधि, पद्धति र नीतिमा चलेन भनेर एउटा टुकडी लिएर गएका माधव नेपालले ३ लाख पनि मतदाता नभएको पार्टी पनि सहमति र सहकार्यमा चलाउन सकेनन् । नेतृत्वमा बसेका माधवलाई त्यहाँ पनि गुट उपगुट चाहियो र कसैलाई काखा र कसैलाई पाखा गर्न थाले । आफू केन्द्रित गतिविधि र स्वेच्छाचारी निर्णयले झलनाथ, घनश्याम, रामकुमारीहरू माधवसँग टाढिए । जनसंगठनको नेतृत्व चुन्नेदेखि पार्टीको अधिवेशनमा कमिटी बनाउने कुरासम्म लोकतान्त्रिक विधिबाट होइन गोजिबाट निकाल्ने काम गरे । विधि, पद्धतिका कुरा गरेर पार्टी फुटाएकाले उल्टै विधि पद्धतिको धज्जी उडाए ।

उनकै पार्टीको युवा संघले समानान्तर कमिटी गठन गर्नु यसैको परिणाम हो । त्यो पार्टी लोकतान्त्रिक अभ्यासभन्दा व्यक्ति केन्द्रित स्वार्थ समूहमा रूपान्तरित भइसकेको छ।

दुवै अस्थिर पात्र : स्वार्थको बन्धनमा वाम एकता

माधव नेपाल र प्रचण्ड मूलतः एउटै प्रवृत्तिका पात्र हुन्-दुवै पदप्रेमी, अस्थिर, र सत्तामुखी। एमालेप्रति आक्रोश, आगामी निर्वाचनमा सम्भावित पराजयको भय र राजनीतिक अस्तित्व जोगाउने चिन्ताले उनीहरू अहिले ‘एकता’को ढाल ओढिरहेका छन्।

तर, यो ‘एकता’ लामो समय टिक्ने सम्भावना कम छ। दुवैका पार्टीभित्र असन्तुष्टि उग्र छ। माओवादीका जनार्दन शर्मा पक्षधरहरू र समाजवादीका झलनाथ–घनश्याम पक्षका नेताहरू यस प्रक्रियाबाट अलग रहने सङ्केत दिइसकेका छन्। त्यसैले यो एकता कागजमै सीमित हुने ठहर विश्लेषकहरूको छ।

नेकपा (एस) का असल कार्यकर्ताहरूमा अहिले गहिरो निराशा छ। माधव नेपालले एमाले फुटाउँदा एकथरीलाई धोका दिए, अब माओवादीसँग मिसाएर अर्को थरीलाई पनि धोका दिन खोज्दै छन् भन्ने बुझाइ तीव्र बन्दै छ।

फर्किने बाटो खुला छ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले खुलेरै भनेका छन्- ‘समाजवादीमा रहेका साथीहरू फर्कनुहोस्, आफ्नै घर एमालेमा स्वागत छ।’ राजनीतिक रूपमा पनि यो आग्रह व्यावहारिक देखिन्छ, किनभने माओवादी–समाजवादी विलय अस्थायी हो र अन्ततः तिनका असल कार्यकर्ताहरू पुनः एमालेमै फर्कने सम्भावना प्रबल छ।

नेपालको वाम राजनीतिले दशकौँदेखि झेल्दै आएको समस्या यही हो- विचारभन्दा व्यक्तिको प्रमुखता, सिद्धान्तभन्दा सत्ताको मोह। त्यसैले फुटपछिको ‘एकता’ सधैँ अस्थिर र अल्पकालीन साबित हुँदै आएको छ।

माओवादी र समाजवादीको यो विलय पनि त्यही अस्थिर प्रवृत्तिको नयाँ अध्याय हो-जहाँ विचार होइन, पदको सौदाबाजी प्रमुख प्रेरणा बनेको छ।