रामेछाप, कात्तिक १७ । सुनापति गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाभित्रका ९ वटा माध्यमिक विद्यालयका विद्यार्थीबीच विभिन्न खेलकुदका विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले गर्नुभएको हो।
उद्घाटन समारोहका प्रमुख अतिथि अध्यक्ष तामाङले सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि वृद्धि गराउँदै आएको बताउनुभयो। तामाङले आगामी वर्ष हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना सुनापति गाउँपालिकाले गर्ने घोषणा पनि गर्नुभयो।
कार्यक्रमकी विशिष्ट अतिथि तथा गाउँपालिका उपाध्यक्ष गीता विष्टले खेलकुद क्षेत्रमा गाउँपालिकाले गरेको निरन्तर लगानीले अब प्रतिफल दिन थालेको बताउँदै, युवाको बढ्दो आकर्षणले सुनापतालाई ‘खेल पर्यटनको सम्भावनायुक्त गन्तव्य’का रूपमा उभ्याइरहेको बताउनुभयाे ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठले पहिलो संस्करणदेखि सातौँ संस्करणसम्म आइपुग्दा विद्यार्थीहरूको खेलकुदप्रतिको लगाव र प्रदर्शनले गाउँपालिकामा खेलकुदको दिगो विकासको सङ्केत दिएको बताउनुभयो। उहाँका अनुसार विद्यालयस्तरमै खेलकुदको वातावरण विस्तार हुन थालेपछि विद्यार्थीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा समेत वृद्धि भइरहेको छ।
उद्घाटन समारोह खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमपछि स्काउटकाे मार्चपास र मौलिक नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कपर्दी लगायतका खेलहरू समावेश छन्।
खेलकुद विकास समितिका सचिव दिनेश नेपालीका अनुसार प्रतियोगितामा सहभागी विद्यार्थीहरूले कुल २० स्वर्ण, रजत र कांस्य पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्। सो प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू आगामी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुनापति गाउँपालिकाको प्रतिनिधित्व गर्नेछन्।













प्रतिक्रिया दिनुहोस्