रामेछाप, कात्तिक १७ । नेपाल टेलिकमको रिचार्ज कार्ड छपाइमा गुणस्तरहीनता र अनियमितता भएको भन्दै रामेछापका उपभोक्ताहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष औपचारिक गुनासो पत्र बुझाउनुभएकाे छ । ‘सचेत नागरिक समाज’ नामक समूहले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा नेपाल टेलिकमले वर्षौँदेखि गुणस्तरहिन रिचार्ज कार्ड वितरण गर्दै आएको र त्यसले उपभोक्तालाई ठुलो नोक्सानी पुर्याएको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा लेखिएको छ – ‘कहिले ५०, कहिले १००, २००, ५०० र १००० रुपैँयाका रिचार्ज कार्डमा कोट्याउँदा अङ्क नदेखिने, पानीले भिज्दा पिन नम्बरका अंक फुल्ने, अर्को कार्डसँग टाँसिने, वा लेदो पदार्थ खुला रहने जस्ता समस्या बारम्बार दोहोरिँदै आएका छन् ।’
उहाँहरुले विगतमा नेपाल टेलिकमको जिल्ला कार्यालयदेखि केन्द्रसम्म बारम्बार गुनासो गर्दा पनि सुनुवाइ नभएको गुनासाे गर्नु भएकाे छ । ‘नेपाल सरकारकै स्वामित्वमा रहेको नेपाल टेलिकमले उपभोक्ताको विश्वास तोड्दै गुणस्तरहीन रिचार्ज कार्ड बजारमा पठाइरहेको छ, जसको ठेक्कापट्टा प्रक्रियामै ठूलो घोटाला भएको देखिन्छ,’ ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्रमार्फत उपभोक्ताहरूले अब ‘रिचार्ज कार्ड छपाइमा देखिएको कमिसनको माहा–कमिसन चक्र’ बारे छानबिन गर्न माग गर्नु भएकाे छ। कार्ड छपाइमा प्रति पिस पाँच पैसा कमिसन लिइए पनि वार्षिक रुपमा अरबौँको रकम अनियमित रूपमा हिनामिना भइरहेको आशंका उहाँहरुकाे छ। ‘नेपाल टेलिकमको घुसखोर तन्त्र कहिले अन्त्य हुन्छ ? ग्राहकले यो जालोबाट कहिले मुक्ति पाउँछन् ?’, पत्रमा प्रश्न उठाइएको छ ।
सचेत नागरिक समाजले प्रमुख जिल्ला अधिकारीमार्फत केन्द्रमा समस्या समाधानका लागि पहल गरिदिन र नेपाल टेलिकमको जिल्ला कार्यालयलाई बजारमा रहेका गुणस्तरहीन कार्ड फिर्ता गर्न निर्देशन दिन माग गरेको छ । साथै, उपभोक्ताहरूले भोग्नुपरेको हानि-नोक्सानीको क्षतिपूर्ति दिलाउन र सेवा सुधारका लागि तत्काल कदम चाल्न पनि आग्रह गरिएको छ ।
उक्त ज्ञापनपत्रको प्रतिलिपि मन्थली नगरपालिका, रामेछाप नगरपालिका, आठवटै गाउँपालिका, नेपाल टेलिकम कार्यालय रामेछाप, उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकार महासंघ रामेछापलाई समेत पठाइएको छ ।
सचेत नागरिक समाजले आगामी दिनमा उपभोक्ताको हक हित र पारदर्शी सेवा सुनिश्चित नहुने हो भने टेलिकमविरुद्ध सामूहिक आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।













प्रतिक्रिया दिनुहोस्