काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले महाधिवेशन कार्यतालिका टुंगो लगाउने एजेण्डासहित आज दिउँसो १ बजेबाट सानेपास्थित पार्टी कार्यालयमा बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो ।

महामन्त्री गगन थापाले पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव राखेपछि नेताहरूबीच तीव्र मतभेद उत्पन्न भएको थियो । यही विषयलाई औपचारिक रूपमा प्रस्तुत गर्दै आजको बैठक अघि बढ्ने तयारी गरिएको कांग्रेस स्रोतले जनाएको छ ।
आजको बैठकमा थापाले आफ्नो धारणा पुनः स्पष्ट गर्दै पुस मसान्तलाई लक्षित गरी महाधिवेशन कार्यतालिका प्रस्तुत गर्नुहुने छ । संस्थापन पक्षले भने वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव धारणाका रूपमा अघि सार्ने तयारी गरेको छ ।
बैठकमा दुवै पक्षले महाधिवेशनको मिति निर्धारणसँगै त्यसको औचित्य, तयारी अवस्था र राजनीतिक सन्दर्भबारे विस्तृत धारणा राख्ने अपेक्षा गरिएको छ ।
कांग्रेसको केन्द्रीय समिति बैठक अघिल्लो हप्ता विवादका कारण स्थगित भएको थियो । आजको बैठकले आन्तरिक मतभेद घटाएर पार्टीलाई आगामी राजनीतिक तयारीतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्