जनता टाइम्स

१८ कार्तिक २०८२, मंगलवार १८:५२

नवजागरण साकोसको एक वर्षको नाफा २ करोड ५ लाख


रामेछाप, कात्तिक १८ । रामेछापको मन्थलीस्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) ले गत आर्थिक वर्षमा २ करोड ५ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ ।

मंगलबार सम्पन्न संस्थाकाे २७ औँ वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष सोमेश थापाले सहकारीले विगत वर्षको जस्तै यस वर्ष सन्तोषजनक वित्तीय प्रगति गरेको जानकारी दिनुभयो । उहाँका अनुसार, यस वर्ष २ करोड ५ लाखभन्दा बढी नाफा कमाएको भए पनि नियमानुसार सो रकम ऋण सुरक्षा कोषमा राख्नुपर्ने व्यवस्थाका कारण नाफा देखिएको छैन।

थापाका अनुसार, सो कोषमा अघिल्लो वर्ष ३ करोड रुपैँयाभन्दा बढी रकम सङ्कलित भएको छ । यस वर्ष २ कराेड ५ लाख रुपैँया थपिएकाे छ ।

स‌ंस्थाका सचिव नारायणबहादुर कार्कीका अनुसार संस्थामा हाल ९ हजार ८७ जना सदस्य छन् । तीमध्ये महिला सदस्य ४ हजार ५५७ जना, पुरुष सदस्य ४ हजार ४६५ जना र संस्थागत सदस्य २५ जना रहेका छन् ।

संस्थाको हालको वित्तीय स्थिति अनुसार चुक्ता सेयर पुँजी ४ करोड ३० लाख ३१ हजार ६ सय रुपैयाँ, बचत रकम ५४ करोड १३ लाख १५ हजार २ सय ७ रुपैयाँ र ऋण लगानी ३५ करोड ३८ लाख ४२ हजार ७ सय ३० रुपैयाँ पुगेको छ ।

वार्षिक साधारण सभामा असल सेयर सदस्य र ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सो अवसरमा संस्थाका सचिव कार्कीले  संस्थाकाे वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष भीमसेन थापाले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष सोमेश थापाको अध्यक्षतामा भएकाे हाे ।