काठमाडाैं, कात्तिक १८ । नेकपा (एमाले) कावासोतीले पोखरीतालमा आयोजित भेलाबाट चिनु पुनको संयोजकत्वमा १ सय ५१ सदस्यीय ‘युथ भोलेन्टियर फोर्स’ गठन गरेको छ।
कावासोती–१ दस्ता गठन गरेर युवा परिचालन अभियानलाई औपचारिक रूपमा सुरुवात गरिएको हो। कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तिलक महतको प्रमुख आतिथ्यता र नगर अध्यक्ष राजेन्द्र पाण्डेको अध्यक्षता रहेको थियो।
कार्यक्रममा बोल्दै महतले जनताको सुरक्षा, पुनर्निर्माण र विपद् व्यवस्थापनमा युवाहरू सक्रिय रूपमा खटिने वातावरण बनाइने बताउनुभयो । उहाँले एमालेले स्थापनाकालदेखि जनसेवा र राष्ट्रनिर्माणका अभियानमा युवालाई अग्रपङ्तिमा राख्दै आएको उल्लेख गर्दै ‘युवा भोलिन्टियर फोर्स’लाई पनि सामाजिक जिम्मेवारी र सकारात्मक सक्रियताको मोर्चा बनाउने स्पष्ट पार्नुभयो।

कार्यक्रममा सहभागी नेताहरूले भ्रष्टाचार, अराजकता र सामाजिक विकृतिविरुद्ध एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
एमालेले केन्द्रीय रूपमा ‘युथ भोलेन्टियर फोर्स’ गठनको घोषणा गरेको तीन दिनमै कावासोतीमा स्थानीय संरचना विस्तार गरिएको हो। यसले संगठनलाई मूल तहसम्म सुदृढ बनाउने र युवा ऊर्जालाई पार्टीको जनसेवा अभियानसँग जोड्ने उद्देश्य लिएको बताइएको छ ।
कार्यक्रममा नगरका विभिन्न टोल, वडास्तरका प्रतिनिधि, विद्यार्थी, श्रमिक, किसान तथा पेसागत संगठनका सदस्यहरूको उल्लेखनीय सहभागिता थियो।













प्रतिक्रिया दिनुहोस्