जनता टाइम्स

१९ कार्तिक २०८२, बुधबार १०:००

एकीकृत समाजवादी छोडेर एमाले फर्किन चाहनेहरूलाई स्वागत गर्ने धादिङ एमालेको निर्णय


काठमाडौं, कात्तिक १९ । नेकपा (एमाले) धादिङले नेकपा (एकीकृत समाजवादी) पार्टी छोडी पुनः एमालेमा फर्कन इच्छुक नेताकार्यकर्ताहरूलाई सम्मानका साथ स्वागत गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रसँग समाजवादी पार्टीको एकता प्रक्रियापछि एमालेले पूर्व सहकर्मीहरूलाई पुनः एकता र सहकार्यका लागि खुलेर आह्वान गरेको हो ।

धादिङ एमालेका अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले हिजो पार्टी निर्माणमा योगदान पुर्‍याएका नेताकार्यकर्ताहरूलाई पुनः जिम्मेवारीसहित पार्टीमा स्वागत गरिने निर्णय गरेको जनाइएको छ । उहाँले नेकपा (एकीकृत समाजवादी) मा रहनु भएका नेताहरूलाई एमालेमा फर्कन र कम्युनिष्ट आन्दोलनलाई पुनः सुदृढ बनाउन आह्वान गर्नुभएको छ ।

बैठकमा केन्द्रीय सदस्य खेम लोहनी प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो । उहाँको उपस्थितिमा भएको छलफलमा जिल्ला स्तरका नेताहरूले माओवादी केन्द्रसँगको एकता कदमले वाम आन्दोलनमा स्पष्ट दिशा नदेखिएको भन्दै एमालेलाई नै वाम एकताको केन्द्रका रूपमा पुनर्स्थापना गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

अध्यक्ष त्रिपाठीले भन्नुभयो, ‘नेकपा (एमाले) नै नेपालका कम्युनिष्टहरूको मूल केन्द्र हो । अब वाम एकताको बाटो एमालेकै नेतृत्वमा अघि बढ्नुपर्छ । देशभक्त, प्रगतिशील र कम्युनिस्ट आस्थाका सबै नेताकार्यकर्तालाई पुनः एकताको भावनासहित एमालेमा संगठित हुन आग्रह गर्दछौँ ।’

यसैबीच, सचिवालय बैठकले पार्टीको आगामी महाधिवेशन तयारीसम्बन्धी छलफल पनि गरेको छ । बैठकले प्रतिनिधि चयनको मापदण्ड, कार्यतालिका र संगठन सुदृढीकरणका विषयमा प्रारम्भिक निर्णय गरेको एमाले जिल्ला उपसचिव उर्मिला रेग्मीले जानकारी दिनुभयो ।

बैठकले कात्तिक २२ गते जिल्लाका १ सय ४ वडामा बैठक तथा भेलाहरू सम्पन्न गर्ने, २५ गते जिल्लाका १३ वटै पालिकामा जनसभा आयोजना गर्ने र कात्तिक २९ गते जिल्ला सदरमुकाममा भव्य जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

सचिवालय बैठकले जिल्लाभर संगठन सुदृढीकरण र एकीकृत अभियानलाई तीव्र बनाउने संकल्प लिएको छ । एमाले धादिङले हाल देखिएको वामदलबीचको असन्तुष्ट अवस्थालाई अवसरका रूपमा लिएर सबै कम्युनिस्ट र राष्ट्रभक्त शक्तिहरूलाई एउटै छातामुनि एकजुट गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।