जनता टाइम्स

१९ कार्तिक २०८२, बुधबार १६:२१

नयाँ पार्टीमा तेस्राे वरियता पाउने भएपछि एकता सभामा पुगे झलनाथ, गरे कहिल्यै नफुट्ने शपथ खान आग्रह


काठमाडौं, कात्तिक १९ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल माओवादी, एकीकृत समाजवादी लगायतका बिचको आज भएको एकता घोषणा सभामा अन्ततः सहभागी हुनुभएको छ ।

पद र भूमिकामा कुरा नमिलेपछि उहाँले हिजो मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नुभएको थियो । तर आज बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फकाएपछि नेता खनाल एकता सभामा सहभागी हुनुभएको हो । प्रचण्डले उहाँलाई नयाँ पार्टीमा तेस्रो वरियता दिने सहमति गरेपछि नेता खनाल  केही ढिला गरी एकता सभास्थल पुग्नु भएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले वाम घटकबिचको एकतालाई ऐतिहासिक कदमको रूपमा व्याख्या गर्नुभयो । उहाँले विगतका असफल एकता प्रयासबाट पाठ सिक्दै अबको एकता दीर्घकालीन, जनमुखी र सिद्धान्तमा आधारित हुनुपर्ने बताउनुभयो ।  ‘कहिल्यै फुट्ने छैनौँ, यो सङ्कल्पको साथ अगाडि बढौँ, यसअघि पनि हामीले एकता गर्‍यौँ, तर ए बेग्लै भयो, कता बेग्लै भयो, अब चाहिँ ए र कता जोडेर बलियो एकता गर्न आवश्यक छ हामी यहाँ जम्मा भएका पार्टीका अतिरिक्त बाहिर पनि साथीहरू छन्, ती साथीहरूलाई पनि म आह्वान गर्न चाहन्छु– कमरेडहरू नयाँ ढङ्गले सोचौँ, जेन–जी आन्दोलनले पनि यही सन्देश दिएको छ । त्यसैले हामी नयाँ सोचका साथ साझा आधारमा कार्यगत एकता गर्दै अघि बढ्न सक्छौँ ।’

उहाँले कम्युनिष्टबीचको आरोप–प्रत्यारोप, गालीगलौज र व्यक्तिगत प्रतिस्पर्धाको प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयाे। उहाँले भन्नुभयो, ‘एउटा कम्युनिष्टले अर्को कम्युनिष्टलाई गाली गर्न थाल्दा हाम्रो विचार र सिद्धान्त कमजोर हुन्छ, अब नीति र दृष्टिकोणमा सहकार्य गर्दै अघि बढ्नुपर्छ, गाली गलौज होइन, संवाद र सहमतिको भाषा अपनाऔँ।’

नेता खनालले नयाँ पार्टीलाई जनतामुखी, बलियो र संगठनात्मक रूपमा सबल बनाउन युवाको सहभागिता अपरिहार्य रहेको बताउनुभयो । अब हामीले एकीकृत पार्टी निर्माण गर्दै अघि बढ्दा केन्द्रीय समितिमा कम्तीमा ५० प्रतिशत युवाहरूलाई स्थान दिनुपर्ने उहाँले धारणा राख्नुभयाे ।

नेता खनालले वाम शक्तिहरूबिचको एकता संविधानको रक्षा, राजनीतिक स्थायित्व र समृद्ध नेपालको आधार बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिलेको एकतालाई ‘नयाँ पुस्ता र नयाँ सोचको एकता’ को रूपमा व्याख्या गर्नुभयो ।