जनता टाइम्स

२१ कार्तिक २०८२, शुक्रबार १९:२०

विप्लव, घनश्याम भुसाल र जनार्दन शर्माको संयुक्त वक्तव्य : अब नयाँ बाटो र नयाँ एकताको आवश्यकता 


काठमाडौं, कात्तिक २१ । देशका तीन वाम धारका समूहहरू  नेकपा (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा (एकीकृत समाजवादीबाट अलग्गिनु भएका सो पार्टीका महासचिव घनश्याम भुसाल र माओवादी केन्द्रबाट अलग्गिनु भएका प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्माले आज संयुक्त प्रेस वक्तव्य जारी गर्दै देशमा पुराना राजनीतिक दलहरूको कमजोरीका कारण जनाबाट अलग्गिँदै गएका बताउनुभएको छ ।

उहाँहरूले संयुक्त वक्तव्य जारी गर्दै  सत्तासीन नेताहरू गैरजिम्मेवार बन्दै गएका बताउनुभएको छ । वक्तव्यमा भनिएको छ, ‘सत्तासीन नेताहरू गैरजिम्मेवार बन्दै गइरहेका छन्, राजनीतिक दलहरू जनताको सवालमा कमजोर र प्रतिक्रियावादी बन्दै गएका छन्।’

राजनीतिक अस्थिरता र नैतिक पतनले राष्ट्रिय जीवन असन्तुलित बन्दै गएको बताउँदै उहाँहरुले नयाँ राजनीतिक वैकल्पिक दिशा आवश्यक भएको निष्कर्ष निकाल्नु भएको छ ।

विप्लव, भुसाल र शर्माले हस्ताक्षर गरेको वक्तव्यमा पुराना दलहरूको असफलताले मुलुकको राष्ट्रिय जीवनलाई गम्भीर संकटमा पुर्‍याएको उल्लेख छ। वक्तव्यमा भनिएको छ, ‘मुलुकको पुराना राजनीतिक दलहरूले आफ्ना वर्गीय स्वार्थका लागि जनता र देशको हित बिर्सेका छन्।’

त्यसको विकल्पका रूपमा नयाँ वैचारिक, संगठनात्मक र राजनीतिक अभियानको आवश्यकता रहेको उहाँहरूले उल्लेख गर्नु भएको छ।

तीन वाम समूहहरूले २०५३ सालदेखि चलेको सशस्त्र द्वन्द्व, २०६२/०६३ को जनआन्दोलन र पछिल्ला जनविद्रोहहरूले दिएको चेतनालाई अब नयाँ वैचारिक रूपान्तरणको दिशामा अघि बढाउनुपर्ने बताउनुभएको छ । वक्तव्यमा भनिएको छ, ‘नयाँ युगको राष्ट्रिय, लोककल्याणकारी र उत्पादक समाज निर्माणका लागि सबै देशभक्त, प्रगतिशील, समाजवादी र कम्युनिष्टहरूबिच सहकार्य आवश्यक छ ।’

नेता त्रयले देशभक्त र जनमुखी राजनीतिक धारको एकता र सहकार्यका लागि अर्थपूर्ण संवादको आह्वान गर्नुभएको छ । ‘अब जनतालाई केन्द्रमा राख्ने नयाँ राजनीतिक अभियानमा सबै वामपन्थी, प्रगतिशील र समाजवादी शक्तिहरू एकताबद्ध हुनुपर्छ’, उहाँहरूले लेख्नु भएको छ ।

वक्तव्यमा पुरानो सत्ताधारी चरित्र र त्यही दलहरूको गुटबन्दी विरुद्ध सचेत हुन नागरिकहरूलाई आग्रह गरिएको छ। ‘पुरानो ढाँचामा देश अघि बढ्दैन,’ वक्तव्यमा भनिएको छ, ‘अब नयाँ बाटो र नयाँ एकताको आवश्यकता छ।’