जनता टाइम्स

२१ कार्तिक २०८२, शुक्रबार २२:२०

जनपरिचालनलाई सशक्त बनाउँदै संगठन सुदृढीकरणतर्फ अघि बढ्नुपर्छ : भानुभक्त ढकाल 


काठमाडौं, कात्तिक २१ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीले सञ्चालन गरेको जनपरिचालन अभियानलाई अझ सशक्त बनाउँदै संगठन सुदृढीकरणतर्फ अघि बढ्न निर्देशन दिनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उहाँले जनपरिचालनलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउन सबै जनसंगठनबीच सहकार्य र समन्वय अपरिहार्य रहेको बताउनुभयो । “हामीले जनपरिचालनलाई संगठन सुदृढीकरणको मुख्य अभियानका रूपमा अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो, “जनसंगठनहरूबीचको एकता, समन्वय र सहकार्यबाट मात्र पार्टीलाई अझ सबल र जनमुखी बनाउन सकिन्छ ।”

उहाँले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशन तयारीका विषयमा समेत जानकारी दिनुभएको थियो । उहाँको भनाइमा, आगामी महाधिवेशन पार्टीको वैचारिक, संगठनात्मक र नीतिगत दिशानिर्धारणका लागि निर्णायक हुने भएकाले सबै जनसंगठनहरूले त्यसका तयारीमा सक्रिय भूमिका खेल्नुपर्नेछ ।

बैठकमा विभिन्न जनसंगठनका प्रमुख, संयन्त्रका सदस्यहरू र जिम्मेवार नेताहरूले पार्टी अभियानका विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए । सहभागीहरूले जनपरिचालनलाई अझ गतिशील, एकीकृत र जनसम्पर्कमुखी बनाउन ठोस योजना आवश्यक रहेकोमा जोड दिएका थिए ।

बैठकले जनपरिचालनलाई प्रभावकारी बनाउन र संगठन सुदृढीकरणलाई पार्टीको प्राथमिकतामा राख्ने निष्कर्ष निकालेको छ ।