जनता टाइम्स

२२ कार्तिक २०८२, शनिबार १४:४८

आफ्ताब आलमकोकाे नाममा कांग्रेसले गर्याे तीनदिने शोक घोषणा


काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा रौतहटका पूर्व जिल्ला सभापति मोहम्मद आफ्ताब आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीनदिने शोक घोषणा गरेको छ।

कात्तिक २२ गते पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले आलमप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो। बैठकले आलमको निधनले पार्टीले एक अनुभवी र समर्पित नेतालाई गुमाएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ।

पार्टीले जारी गरेको शोक–प्रस्तावमा उल्लेख छ, ‘नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं रौतहट जिल्लाका पूर्व सभापति मोहम्मद आफ्ताब आलमको गएराति काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ, पार्टीको यो बैठक उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछ।’

वि.सं. २०१९ असार ५ गते रौतहटको राजपुर फरहदवा गाउँपालिका–४ मा जन्मिएका आलमले वि.सं. २०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। लामो राजनीतिक यात्राका क्रममा उहाँले पटक–पटक मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो।

वि.सं. २०५३ को उपनिर्वाचन, २०५६ र २०६४ को आम निर्वाचन तथा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उहाँ रौतहट क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको थियो। वि.सं. २०६७ मा सम्पन्न नेपाली कांग्रेसको बाह्रौं महाधिवेशनमा उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो। आलमले लोकतन्त्र स्थापना र पुनर्स्थापनाका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टीले जनाएको छ। उहाँले पटक–पटक जेलजीवन व्यतित गर्दै पार्टीको संगठन सुदृढीकरण र जनताको अधिकारका लागि महत्वपूर्ण योगदान गर्नुभएको शोक–प्रस्तावमा उल्लेख छ।

बैठकले दुःखको यस घडीमा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै उहाँप्रति उच्च सम्मान प्रकट गर्दै निम्न कार्यक्रम निर्धारण गरिएको जनाएको छः

  • कात्तिक २२, २३ र २४ गते तीन दिनसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाइने।

  • कात्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गरिने।

  • स्वर्गारोहणको १३ दिनसम्म शोक पुस्तिका राखिने।

  • रौतहट जिल्लामा विशेष शोक सभा आयोजना गरिने।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा भनिएको छ, ‘मोहम्मद आफ्ताब आलमको निधनले नेपाली कांग्रेसले एक निष्ठावान् र जनपक्षीय नेताको अपूरणीय क्षति व्यहोरेको छ, उहाँको सम्झना नेपाली कांग्रेस र लोकतान्त्रिक आन्दोलनको इतिहासमा सदैव जीवित रहनेछ।’

इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोपमा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएकाे आलमलाई   उच्चअदालत वीरगञ्जले सफाइ दिएपछि रिहा  हुनुभएकाे थियाे ।  जेलबाट छुटे लगत्त्रै आलमलाई ह्रदयघाटका समस्या देखिएकाे थियाे । साेही राेगकै  बिचमा उहाँकाे निधन भएकाे हाे ।