दाेलखा, कात्तिक २३। दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गएको सोमबार परेको भीषण हिमपहिरोमा परेका सात आरोहीमध्ये पाँच जनाको अवस्था अझै अज्ञात रहेको छ। चार दिनदेखि चलिरहेको खोज तथा उद्धार कार्य स्थगित गरिएको छ।
खोज तथा उद्धार टोलीका कमाण्डर पासाङ किदर शेर्पाका अनुसार अहिले हिमपात अत्यधिक बढेको र हिउँ कडा बनेकाले त्यसलाई खन्न असम्भव देखिएकाले हाललाई खोजीकार्य स्थगित गर्ने निर्णय गरिएको हो। उहाँले भन्नुभयो, ‘२ नेपालीसहित ५ जना हिमपहिरोमा पुरिएर हराइरहेका छन्, अब उनीहरू जीवित रहने सम्भावना छैन।’
खोजीको क्रममा भेटिएका दुई शवमध्ये एक फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे र अर्को इटलीका पाउलो कोको भएको पुष्टि गरिएको छ। उद्धार टोलीका अनुसार यो सिजनमा थप खोजी सम्भव छैन। मौसम सुधार भएपछि मात्रै पुनः खोजी कार्य सुरु गर्न सकिने बताइएको छ।
गत कात्तिक ११ गते दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रोल्वालिङ क्षेत्रमा पर्ने ५ हजार ६ सय ३० मिटर उचाइको यलुङ रि हिमाल आरोहणका लागि गाइड र आरोही गरी १५ जनाको समूह पुगेको थियो। कात्तिक १७ गते बिहान ४ बजे बेसक्याम्पबाट चुचुरोतर्फ प्रस्थान गरेका उनीहरू करिब ८ बजे शिखर नजिकै पुग्दा आकस्मिक हिमपहिरोमा परेका थिए।
सोमबारको घटनापछि मंगलबारबाटै खोज तथा उद्धार अभियान सुरु गरिएको थियो। त्यस क्रममा आठ जनाको सकुशल उद्धार गरिएको थियो। तर, सात जनामध्ये दुई विदेशीको शव भेटिए पनि बाँकी पाँच जनाको अवस्था अझै अज्ञात छ।
खोज तथा उद्धारका लागि नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (NNMGA) बाट पासाङ किदर शेर्पा, रितन जाङ्बु शेर्पा, छिरिङ सोनाम लामा, पासाङ तेन्वा शेर्पा, ड्रिम डेस्टिनेसनका फुर्वा तेन्जी शेर्पा र सिम्रिक एयरका दुई विदेशीसहित नौ सदस्यीय टोली खटिएको थियो।
दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोका अनुसार कठिन मौसमका कारण अब यो सिजनमा खोजी सम्भव नभएकाले टोली फर्कन लागेको हो। उहाँले भन्नुभयो, ‘उच्च जोखिम, बाक्लो हिमपात र हिउँको कठोर अवस्थामा थप उद्धार सम्भव छैन।’
खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली पनि सहभागी थियो। तर, लगातारको हिमपात र उच्च जोखिमका कारण ती टोलीहरू पनि घटनास्थलसम्म पुग्न सकेनन्। सुरक्षा टोली ना गाउँसम्म पुग्न सके पनि त्यसपछाडि बाक्लो हिमपातका कारण अघि बढ्न असम्भव भएको थियो।
गौरीशङ्कर संरक्षण क्षेत्रअन्तर्गत पर्ने यो हिमाल पछिल्ला वर्षहरूमा विदेशी आरोहीहरूको आकर्षण बन्दै आएको छ। तर, यलुङ रि क्षेत्रमा अहिलेको मौसम अत्यन्त अस्थिर र जोखिमपूर्ण रहेको कारण यस वर्षको आरोहण सिजन दुःखद घटनासँग समाप्त भएको छ ।













प्रतिक्रिया दिनुहोस्