चितवन, कात्तिक २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वघोषित मिति अनुसार फागुन ७ देखि ९ गतेसम्म गर्न तय गरिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ।
चितवनको सौराहामा सम्पन्न दुईदिने केन्द्रीय समितिको विस्तारित बैठकले फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका कारण महाधिवेशन तोकिएको मितिमा गर्न नसकिने निष्कर्ष निकालेको हो।
बैठकपछि जारी विज्ञप्तिअनुसार अब प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तालिका ल्याउन केन्द्रीय समितिलाई सुझाव दिइएको छ। ‘अप्रत्याशित राजनीतिक परिस्थितिका कारण फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्वघोषित मिति (फागुन ७–९) मा महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै चुनाव भएको ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तालिका ल्याउन आग्रह गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
बैठकले घोषित निर्वाचनको परिणाम देश र जनताको हितमा रास्वपाको पक्षमा हुने गरी जनमत निर्माणमा जुट्न सम्पूर्ण सदस्य र शुभेच्छुकलाई आह्वान गरेको छ।
बैठकका ११ बुँदे निष्कर्ष
१. फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारले तयारीलाई थप सुदृढ गर्नुपर्ने बैठकको निष्कर्ष छ। यसका लागि दलहरू, सरोकारवाला निकाय र सुरक्षासंस्थासँग संवाद घनिभूत गर्न आग्रह गरिएको छ। विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था मिलाउन पनि सरकारलाई ध्यानाकर्षण गराइएको छ।
२. निर्वाचनको परिणाम देश र जनताको सर्वोपरी हितमा हुने गरी जनमत निर्माणमा लाग्न पार्टीका सबै संरचनालाई निर्देशन दिइएको छ। उम्मेदवार र एजेन्डाप्रति जनविश्वास जगाउने उद्देश्यसहित प्रभावकारी योजना बनाउन बैठकले जोड दिएको छ।
३. जेन–जी आन्दोलनका क्रममा भएका मानवता विरोधी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न बैठकले माग गरेको छ। साथै, आन्दोलनका भावना र म्यान्डेट अनुसार राज्य निकायमा उनीहरूको सहभागिता सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।
४. प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोटलगायत सम्पूर्ण प्रक्रिया पारदर्शी र जनविश्वासयोग्य हुने प्रतिबद्धता पार्टीले जनाएको छ। उम्मेदवार छनोटमा विधि, मापदण्ड र संयन्त्र निर्माण गर्दा तल्लो तहसम्मको अपनत्व कायम गर्न केन्द्रीय समितिलाई निर्देशन दिइएको छ।
५. पार्टीभित्र आन्तरिक लोकतन्त्र, समावेशिता र रुपान्तरणका पक्षमा आएका आवाजलाई संस्थागत रूपमा सम्बोधन गर्ने बैठकको निर्णय छ। सबै तहका समिति र सदस्यको सहभागिता सुनिश्चित गर्ने वातावरण विस्तार गर्न पार्टीले प्रतिबद्धता जनाएको छ।
६. बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि समान विचार भएका परिवर्तनकारी शक्तिसँग संवाद, सहमति र सहकार्यमा जोड दिइएको छ। परम्परागत दलहरूको विकल्पका रूपमा रास्वपाको भूमिका विशेष र निर्णायक हुनुपर्ने बैठकको निष्कर्ष छ।
७. राष्ट्रिय हित, सार्वभौमिकता, पारदर्शिता र जवाफदेहिताको पक्षमा रास्वपा निरन्तर सक्रिय रहने निर्णय गरिएको छ। भ्रष्टाचारमुक्त समाज निर्माण, जनस्वतन्त्रता र जनजीविकाका सवालमा पार्टीले दबाबपूर्ण हस्तक्षेप गर्ने प्रतिबद्धता जनाएको छ।
८. पार्टी सभापति रवि लामिछानेमाथि दायर मुद्दा राजनीतिक प्रतिशोधको परिणाम भएको ठहर गर्दै बैठकले त्यसलाई लोकतान्त्रिक अभ्यासमाथिको प्रहार भनेको छ। सरकार शक्तिको दुरुपयोग गर्दै विपक्षी विचारलाई दबाउने प्रवृत्तिले जनविश्वासमा क्षति पुर्याएको ठहर गर्दै रास्वपाले न्यायालयसँग निष्पक्ष र शीघ्र सुनुवाइको माग गरेको छ।
९. अप्रत्याशित राजनीतिक परिस्थितिका कारण महाधिवेशन स्थगित गरिएको र चुनावपछि ६ महिनाभित्र सम्पन्न गर्ने गरी तालिका ल्याउन निर्देशन दिइएको छ। साथै, चुनावी अभियानसँगै तल्ला तहका अधिवेशनलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।
१०. समानुपातिक प्रणालीतर्फ उम्मेदवार आह्वान आजदेखि सुरु गरिएको छ। सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको रूपरेखाअनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन हुनेछ। उम्मेदवारले सार्वजनिक पदको दुरुपयोग नगरेको, शैक्षिक र वैवाहिक अवस्थाको वैधता स्पष्ट भएको, घृणात्मक अभिव्यक्ति वा अपमानजनक व्यवहार नगरेको लगायत स्वघोषणा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
११. विस्तारित बैठकको व्यवस्थापनमा सहयोग गर्ने चितवन जिल्ला समिति, स्थानीय समितिहरू, सुरक्षा निकाय, सञ्चारकर्मी, सौराहाका होटल व्यवसायी र रत्ननगर नगरपालिकाप्रति पार्टीले धन्यवाद व्यक्त गरेको छ।














प्रतिक्रिया दिनुहोस्