रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा जिल्लाको पहिलो आधुनिक धान कुट्ने मिल सञ्चालनमा आएको छ।
मन्थली नगरपालिका–१ भैसेसुरमा नेकपा (एमाले) रामेछापका उपाध्यक्षसमेत रहनुभएका होतराज ढकालले सो मिलको सुरु गर्नुभएको हो। उहाँले जिल्लामा यसअघि पनि साना कुटानी मिलहरू रहे पनि क्षमताको दृष्टिले यो आधुनिक मिल पहिलो भएको बताउनुभयो।
ढकालका अनुसार मन्थली र वरपरका क्षेत्रमा धान उत्पादन धेरै हुने भए पनि आधुनिक मिल नहुँदा किसानहरूले आफ्नो उत्पादनबाट प्राप्त हुने चामलको ठूलो भाग नोक्सान बेहोर्नुपर्थ्यो। उहाँले भन्नुभयो, ‘अघिल्ला मिलहरूमा धानको कनिका र ढुटो बढी निस्कन्थ्यो, तर यो आधुनिक मिलमा धानको उचित उपयोग भई बढी चामल निस्कने सुविधा छ।’
कृषि र उद्योग दुबै क्षेत्रमा संलग्न रहनुभएका ढकालले यसअघि नै स्थानीय उत्पादनमा आधारित विविध व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ। उहाँले गाईपालन, ड्रागन फ्रुट खेती तथा कुटानी, पिसानी र तोरी पेल्ने मिललगायतका व्यवसाय सञ्चालन गरी उत्पादनमूलक क्षेत्र विस्तार गर्नुभएको छ। उहाँले स्थानीय उपभोक्तालाई शुद्ध र गुणस्तरीय चामल, पिठाे तथा तोरीको तेल आपूर्ति गर्ने उद्देश्यले सो मिल सञ्चालनमा ल्याउनुभएको हो।

उहाँले राजनीति र व्यवसायलाई सन्तुलित रूपमा अघि बढाउँदै ‘राजनीतिमा लाग्नेले केही गर्दैनन्’ भन्ने धारणा गलत साबित गर्नुभएको छ।
स्थानीयवासीहरूले ढकालको यो पहललाई जिल्लाको कृषि क्षेत्रमा नवीनतम मोडको रूपमा स्वागत गरेका छन्। उनीहरूका अनुसार अब किसानहरूले धान बेच्न र कुटाउन टाढा जानु नपर्ने, ढुवानी खर्च घट्ने र उत्पादन मूल्य वृद्धि हुने अपेक्षा गरिएको छ।
ढकालले आफ्नो राजनीतिक जिम्मेवारीका साथै जिल्लाको आर्थिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले यो उद्योग स्थापना गर्नुभएको हो। उहाँले भन्नुभयो, ‘राजनीति जनताको सेवाको माध्यम हो, र सेवा केवल भाषणबाट होइन, उत्पादन र रोजगारी सिर्जनाबाट पनि दिन सकिन्छ।’
स्थानीय कृषकहरूका अनुसार यो आधुनिक मिल सञ्चालनमा आएपछि रामेछापका कृषकहरूका लागि ठूलो राहत मिल्नेछ। यसले कृषि व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्ने र स्थानीय उत्पादनमा मूल्य संवर्द्धन गर्ने मार्ग खुलाउने अपेक्षा गरिएको छ। साथै जिल्लाकाे उत्पाद बाहिर पठाउन समेत यसले सहयाेग गर्ने छ ।
स्थानीय उद्योग व्यवसायीहरूले ढकालको पहललाई ‘राजनीति र उत्पादनलाई सँगसँगै अघि बढाउने प्रेरणादायी मोडेल’का रूपमा व्याख्या गरेका छन्। याे अन्य राजनीति गर्नेलाई पनि सिकाइकाे विषय बनेकाे छ ।













प्रतिक्रिया दिनुहोस्