चरिकोट, कात्तिक २६ । दोलखाको भिमेश्वर नगरपालिका–३ चरिकोट बजारबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैतेश्वर गाउँपालिका–७ का ३५ वर्षीय सुन्दर प्रकाश खड्का, मेलुङ गाउँपालिका–२ का २१ वर्षीय रुद्रबहादुर कार्की र भिमेश्वर नगरपालिका–३ का २६ वर्षीय निरज खड्का रहेका छन् ।
प्रहरीका अनुसार ती तीनै जनाले चरिकोट बजार क्षेत्रमा लागुऔषध खरिद–विक्री गर्दै आएको भन्ने विशेष सूचनाको आधारमा कात्तिक २४ गते प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको शरीर र घर–कोठाको तलासी गर्दा Tramadol Hydrochloride Capsules I.P. 50mg (TROHMA-50) लेखिएको १ सय ९१ वटा क्याप्सुल, ३ थान मोबाइल फोन र नगद २ हजार ५ सय रुपैयाँ फेला पारेको जनाएको छ ।
बरामद गरिएको लागुऔषध र अन्य सामग्री प्रमाणका रूपमा सुरक्षित गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान पश्चात् दोलखा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइरहनु भएको प्रहरीले जानकारी दिएको छ ।













प्रतिक्रिया दिनुहोस्