जनता टाइम्स

२६ कार्तिक २०८२, बुधबार १२:२४

सिन्धुलीमा स्राेत नखुलेकाे नगद सहित एक चिनयाँ र तीन नेपाली पक्राउ 


सिन्धुली, कात्तिक २६। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्टमा प्रहरीले स्रोत नखुलेको करिब १५ लाख रुपैयाँसहित चार जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकामध्ये एक जना चिनियाँ नागरिक पनि रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मङ्गलबार दिउँसो करिब २ः१० बजे मदन भण्डारी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ५८०४ नम्बरको किया कम्पनीको सानो कार नियमित जाँचका क्रममा प्रहरी चौकी झनझनेका वरिष्ठ प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले गाडीको पछाडिको टायरभित्र लुकाइराखिएको नगद फेला पारेको हो।

उक्त गाडीका चालक काठमाडौं महानगरपालिका–३१ का २५ वर्षीय आदिल हमिद रहेका छन् । उनीसँगै सोही गाडीमा बस्ने २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका–२ का ७३ वर्षीय चन्द्रमान योञ्जन, र करिब ३२ वर्षीय चिनियाँ नागरिक सियोङ च्याङगे समेत सवार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोट हुँदै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याएको छ ।

बरामद गरिएको करिब १५ लाख रुपैयाँ नगदको स्रोतबारे सोधपुछ सुरु भएको छ । सो रकम कसको हो, किन र कहाँ लैजाँदै गरिएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट खुल्न सकेको छैन ।

प्रहरीले उक्त रकमसँग सम्बन्धित बैंकिङ विवरण, कारोबार अभिलेख तथा अन्य कागजातहरूको विवरण माग गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार रकम काठमाडौंतर्फ लैजाँदै गरिएको भए पनि यसको उद्देश्य र स्वामित्वबारे थप अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्यप्रकाश सुवेदीका अनुसार स्रोत नखुलेको ठूला रकमसम्बन्धी प्रकरणमा हाल आर्थिक अपराध महाशाखासँग पनि समन्वय भइरहेको छ ।