जनता टाइम्स

११ मंसिर २०७६, बुधबार ०९:०४

केरुङ–काठमाडौँ रेलमार्ग बन्ने बाटो खुल्दै : विस्तृत सम्भाव्यता अध्ययन गर्ने सहमति


काठमाडौँ, मंसिर ११

नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु हुने भएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि भएको समझदारीपत्र (एमओयू)लाई मूर्त रूप दिन सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार बसेको नेपाल र चीनका पदाधिकारीहरूको संयुक्त बैठकले यो सहमति गरेको हो । सो रेलमार्ग निर्माणका लागि छिट्टै विस्तृत सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति भएको मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिनुभयो । सो बैठकका लागि उच्चस्तरीय चिनियाँ टोली सोमबार काठमाडौँ आइपुगेको हो ।

उहाँले भन्नुभयो, “बैठकमा प्रस्तावित सो रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन कसरी अगाडि बढाउने र त्यस क्रममा नेपाली र चिनियाँ पक्षको दायित्व र जिम्मेवारी के के हुन्, ती विषय निक्र्योल गरी सहमति ग¥यौँ । हामीले यस कार्यका लागि ‘माइन्युट’ गरिसक्यौँ, अब हाम्रो काम सुरु हुन्छ । ”

दुवै पक्षले हस्ताक्षर गरेको सो सहमतिमा विस्तृत सम्भाव्यता अध्ययनका क्रममा चिनियाँ पक्षले गर्नुपर्ने काम उल्लेख गर्नुका साथै नेपाली पक्षले गर्नुपर्ने सुरक्षाको व्यवस्था, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)का बारेमा उल्लेख गरिएको जानकारीसमेत सचिव कार्कीले दिनुभयो ।

“अब ‘एरियल म्यापिङ’को काम सुरु गर्नुका साथै भौगर्भिक अध्ययन थाल्ने प्रतिबद्धता चिनियाँ पक्षले गरेको छ”, सचिव कार्कीले थप्नुभयो, “अब काम छिट्टै नै सुरु हुन्छ, यसका लागि एउटा कामको समयतालिका बन्छ र त्यसअनुसार हामी काम गर्छौं । ” केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन यसअघि नै सम्पन्न भइसेकेको छ ।

काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग सम्भव

चीन सरकारकै सहयोगमा निर्माण गर्ने भनिएको प्रस्तावित काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) कार्य सम्पन्न भएको छ । चीन सरकारले नै सो रेलमार्गको सम्भाव्यता अध्ययन गरेको हो । रेल विभागका महानिर्देशक बलराम मिश्रले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन ९फिजिबिलिटी स्टडी० कार्य सम्पन्न भएको बताउँदै मङ्गलबारको बैठकमा चिनियाँ पक्षले सो अध्ययन प्रतिवेदन नेपाललाई बुझाएको जानकारी दिनुभयो । अध्ययन प्रतिवेदनले सो रेलमार्ग निर्माण सम्भव रहेको देखाएको बताउँदै उहाँले प्रतिवेदन अध्ययन गरी सोसम्बन्धी प्रतिवेदन तयार गरेर नेपालले चीनलाई बुझाउने जानकारी दिनुभयो ।

“अध्ययन प्रतिवेदनमा सो प्रस्तावित रेलमार्ग निर्माणको लागत, लम्बाइलगायतको विस्तृत जानकारी गराइएको छ”, उहाँले भन्नुभयो, “अबको अध्ययन निर्माण कार्य सुरु गर्ने गरी गरिने छ । ” यस रेलमार्ग निर्माणका लागि थप काम अगाडि बढाउन दुई मुलुकबीच अर्को सहमति हुनुपर्ने उहाँले बताउनुभयो । अहिलेसम्मको सहमति सम्भाव्यता अध्ययन गर्न मात्र भएको थियो ।

रसुवागढीदेखि काठमाडौँसम्म करिब एक सय किलोमिटर लामो हुने नेपाल–चीन जोड्ने प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग चीनको सिगात्से हुँदै केरुङबाट रसुवागढी नाका भएर नेपाल प्रवेश गर्ने छ । एक घण्टाको समयमै रसुवागढीबाट काठमाडौँ आइपुग्ने उक्त रेलमार्गमा भौगोलिक विकटताका कारण सुरुङमार्ग र पुलको सङ्ख्या बढी हुने छ ।

चिनियाँ कम्पनी चाइना रेल्वे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटको रिपोर्टअनुसार प्रस्तावित यस रेलमार्गमा ९८.५५ प्रतिशत खण्डमा सुरुङ वा पुल बनाउनुपर्ने हुन्छ । यो रेलमार्ग निर्माणका लागि नौ वर्ष र दुई खर्ब ५७ अर्ब रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान छ । (गोरखापत्र)