काठमाडौं, मंसिर १ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधको आरोपमा मृत्युदण्डको सजाय तोकिएको छ । विशेष न्यायाधिकरणले महिनौँ लामो सुनुवाइमा उहाँलाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमाथि घातक दमनको आदेश दिएकोमा दोषी ठहर गरिएको थियो।
समाचार संस्था रोयटर्सका अनुसार, त्यहाँको एक अदालतले सोमबार हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको हो।
गत वर्ष विद्यार्थी–नेतृत्वमा भएको विद्रोहमाथि उहाँले घातक दमनकारी कारबाही गर्न आदेश दिएको आरोपमा महिनौँसम्म चलेको मुद्दाको फैसला सोमबार सुनाइएको हो ।इन्टरनेसनल क्राइम ट्रिब्यूनलले हसिनामाथि लागेका मानवता विरुद्धको अपराधका ५ आरोपहरूमाथि सुनुवाइ गर्दै फैसला सुनाएको हो ।
यसमा हत्या, अपराध रोक्न नसक्नु र मानवता विरुद्धको अपराध सबैभन्दा महत्त्वपूर्ण छन्। हसिनाको फैसलालाई लिएर देशभर हिंसा जारी छ। सरकारले उच्च सतर्कता (हाई अलर्ट) को घोषणा गरेको छ। ढाकामा १५ हजार प्रहरी परिचालन गरिएको छ। उनीहरूलाई हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश दिइएको छ।
शनिबार अबेर रातिदेखि आइतबार बिहानसम्म ढाकामा दुईवटा बसमा आगजनी गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । फैसलापछि हिंसा अझ बढ्ने आशंकालाई ध्यानमा राख्दै देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ।
फैसला आउनुअघि नै हसिनाले आफूविरुद्धका आरोपहरू झूटो भएको र यस्ता फैसलाहरूलाई आफूले पर्वाह नगर्ने बताउनुभएकाे थियाे । अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) को निर्णयअघि आफ्ना समर्थकहरूलाई पठाएको अडियो सन्देशमा अवामी लीग नेतृ हसिनाले नोबेल विजेता मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले आफूको पार्टीलाई समाप्त गर्ने षड्यन्त्र गरिरहेको बताउनुभयाे । ‘यति सजिलो छैन, अवामी लीग जरा–जरा गाउँबाट उठेको पार्टी हो, कुनै सत्ता हत्याराको खल्तीबाट जन्मिएको होइन,’ ७८ वर्षीया हसिनाले बंगालीमा भन्नुभएकाे छ।
हसिनाले बंगलादेशमा विरोधका योजनाहरूमा आफ्ना समर्थकहरूले स्वस्फूर्तरूपमा प्रतिक्रिया दिएको दाबी गर्नुभयाे।‘उनीहरूले हामीलाई विश्वास दिएका छन्, यो भ्रष्ट, उग्रवादी र हत्यारा युनुस र उसका सहयोगीहरूलाई बंगलादेश कसरी फेरिन्छ भनेर जनताले देखाउनेछन, न्याय जनता स्वयं गर्छन्,’ उहाँले भन्नुभयाे ।













प्रतिक्रिया दिनुहोस्