जनता टाइम्स

५ मंसिर २०८२, शुक्रबार २२:०७

रामेछापको उमाकुण्ड गाउँपालिकामा वडास्तरीय घुम्ती शिविर जारी


रामेछाप, मंसिर ५ । उमाकुण्ड गाउँपालिकाले स्थानीय सेवा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरअन्तर्गत आज वडा नम्बर ५, प्रीति र हिजो वडा नम्बर ३, कुभुकास्थलीमा विभिन्न प्रशासनिक तथा प्राविधिक सेवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ। यस अघि वडा न‌ं १ का गुम्देल र २ को बाम्तीमा शिविर सञ्चालन भइसकेको छ ।

आज उमाकुण्ड–५ प्रीतिमा आयोजित शिविरमार्फत ३५ जनाले नयाँ नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभयो भने ३५ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ। त्यस्तै ५३ जनाको राष्ट्रिय परिचयपत्रको लागि तथ्याङ्क सङ्कलन गरिनुका साथै ५ जनालाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिएको छ। व्यवसाय सम्बन्धी सेवामा ३ व्यवसायको नवीकरण तथा १ नयाँ व्यवसाय इजाजत प्रदान गरिएको छ।

पशु स्वास्थ्य सेवाअन्तर्गत ७४ घरधुरीका ९ सय ८० पशुमा औषधि वितरण गरिएको छ। यससँगै २५ कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ। आजको शिविरबाट जम्मा ९ हजार ६ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ।

हिजो उमाकुण्ड–३ कुभुकास्थलीमा आयोजित घुम्ती शिविरमार्फत ९९ जनाले नयाँ नागरिकता प्राप्त गर्नुभएको थियो। ६३ जनाको राष्ट्रिय परिचयपत्र फारम सङ्कलन गरिएको छ भने १० जनालाई परिचयपत्र कार्ड वितरण गरिएको थियो।

शिविरमा ७ योजनाको सम्झौता, ३ व्यवसाय नवीकरण तथा १ सय १८ घरधुरीका २ हजार ७ सय ६५ पशुमा औषधि वितरण गरिएको थियो। त्यस्तै ११ पशुको गोबर परीक्षण र २८ कुकुरमा रेबिज विरुद्ध खोप लगाइएको थियो। हिजोको शिविरबाट ९ हजार २ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

दुवै घुम्ती शिविरमा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलसहित सम्बन्धित शाखाका कर्मचारी र प्राविधिकहरू सहभागी हुनुभएको थियो। गाउँपालिकाले दुर्गम बस्तीमा रहेका नागरिकलाई आवश्यक सेवा उनीहरूको वडामै पुर्‍याउने उद्देश्यले यस किसिमका शिविरलाई निरन्तरता दिइरहेको छ।