बाँके, कात्तिक ७। बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
नेपाल प्रहरीका अनुसार आज बिहान करिब ९ बजे दुर्घटना भएको हो। कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ। उहाँलाई उपचारका क्रममा बिहान १०:०८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते कार चालक डोटीको साविक मुदेगाउँ गाविस–७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाहीको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि.मा उपचार भइरहेको छ।
त्यस्तै, अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ निवासी ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
उक्त कारका चालक घोराही उपमहानगरपालिका–७ सौरियार निवासी करिब ४० वर्षीय सम्राट नाथ योगीलाई चोटपटक नलागेको र इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्