रामेछाप, मंसिर ६ । लगातार आठौँ पटक मन्थली माध्यमिक विद्यालयले ‘नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को उपाधि जितेको छ।
गत बिहीबारदेखि मन्थली माविको मैदानमा सञ्चालन भएको प्रतियोगितामा नगरका १९ वटा सार्वजनिक तथा संस्थागत विद्यालयलाई पछि पार्दै मन्थली माविले निरन्तर आठौँ वर्ष पनि शिल्ड जितेको हो । सो विद्यालयले ३४ स्वर्णसहित जम्मा ८० पदक जितेको छ।
यस पटक पनि तामाकोशी बोर्डिङ स्कुल दोस्रो भएको छ । सो विद्यालयले ११ स्वर्ण सहित ४१ पदक जितेको छ ।
प्रतियोगितामा १४ वडाका २० वटा विद्यालयका विद्यार्थीले ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए।
विद्यार्थीको अन्तर्निहित क्षमता प्रस्फुटनका उद्देश्यले वार्षिक रूपमा आयोजना गरिने यो प्रतियोगितामा निजी क्षेत्रको तामाकोशी बोर्डिङ स्कुल लगातार चौथो पटक दोस्रो बनेको हो।
विजेता खेलाडीलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठलगायतले संयुक्त रूपमा नगद, ट्रफि, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो।

मन्थली माविले यस वर्ष ४० हजार रुपैयाँ नगदसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
तामाकोशी बोर्डिङले २५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
तेस्रो स्थानमा रहेको कर्कला देवी बोर्डिङ स्कुल (केब्स) ले १५ हजार रुपैयाँ नगदसहित पुरस्कार हात पारेको छ। उसले ७ स्वर्ण सहित १६ पदक जितेको छ ।
प्रतियोगितामा निलकण्ठेश्वर मावि कठजोरले ५ हजार रुपैयाँ नगदसहित सान्त्वना पुरस्कार पाएको छ । निलकण्ठेश्वरले ४ स्वर्ण , ७ सहित १६ पदक जितेको छ ।














प्रतिक्रिया दिनुहोस्