जनता टाइम्स

७ मंसिर २०८२, आईतवार १६:०५

पुराना दलले क्रान्तिकारी छवि जोगाउन नसक्दा देश यथास्थितिमा फस्यो: जनार्दन शर्मा


काठमाडौं, मंसिर ७। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालको राजनीति परिवर्तनका प्रमुख शक्ति मानिएका पुराना राजनीतिक दलले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि जोगाउन नसक्दा मुलुक गम्भीर भ्रष्टाचार, बेथिति र यथास्थितिको दुष्चक्रमा फसेको बताउनुभएको छ ।

आइतबार आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै शर्माले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले इतिहासमा परिवर्तनकारी भूमिका खेले पनि शासन सत्तामा पुगेपछि जनआकाङ्क्षा अनुसारको रूपान्तरण नदिन नसक्नु नै देश आजको अस्तव्यस्त अवस्थामा पुग्नुको प्रमुख कारण भएको बताउनुभयो । ‘कांग्रेस, एमाले, माओवादी आ–आफ्ना समयका नागरिक आवाजको प्रतिनिधित्व गर्ने परिवर्तनकारी पार्टी नै थिए र हुन् तर इतिहासमा योगदान गरेका पार्टीहरूले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल हुन पुगे, फलस्वरूप देश चरम भ्रष्टाचार, बेथिति र यथास्थितिमा फस्नका साथै गति र परिणामविहीन हुन पुग्यो’, उहाँले भन्नुभयो ।

शर्माले मुलुकका प्रमुख दलले नातावाद–कृपावाद, दण्डहीनता र राजनीतिक हस्तक्षेपलाई संस्थागत रूपमा विस्तार गर्दै राज्यका अङ्गहरूलाई ‘थप निकम्मा र असक्षम’ बनाएको बताउनुभयो। संविधानसभा मार्फत संविधान लेख्ने अवसरलाई दलहरूले दलगत स्वार्थ र सत्ता समीकरणको खेलमै सीमित गरेकाले क्रान्ति र आन्दोलनको म्यान्डेट पूरा हुन नसकेको उहाँले बताउनुभयो । ‘भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र सबै क्षेत्रमा राजनीतिक तरङ्ग गरेर राज्यका संस्थागत प्रणालीलाई थप निकम्मा बनाए, संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा जनआन्दोलनको म्यान्डेट जस्ताको त्यस्तै सम्बोधन हुन सकेन’, उहाँले भन्नुभयाे ।

प्रगतिशील लोकतान्त्रिक पार्टीले वैकल्पिक राजनीतिक शक्तिको रूपमा परिणाममुखी र उदाहरणीय शासन गर्ने दाबी गर्दै उहाँले वर्तमान राजनीतिक संस्कृति बदल्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयाे ।