जनता टाइम्स

७ मंसिर २०८२, आईतवार १९:०२

‘विराटनगर घटना : जनमत र संविधानले नचिनेको, अलोकतान्त्रिक र असंवैधानिक सरकारकाे अराजकता प्रवर्द्धमा सहयाेग’


काठमाडौं, मंसिर ७ । नेकपा (एमाले) निकट अनेरास्ववियुले एमाले नेताहरू महेश बस्नेत र भानुभक्त ढकालमाथि विराटनगर विमानस्थल बाहिर भएको रङ छ्याप्ने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । अनेरास्ववियुले यसलाई लोकतान्त्रिक मूल्य–मान्यताको अपमान भन्दै कडा आपत्ति जनाएको छ।

अनेरास्ववियुका अध्यक्ष दीपक धामीले आइतबार सार्वजनिक गरेको वक्तव्यमा शनिबार बिहान महत्वपूर्ण राजनीतिक कार्यक्रमका सिलसिलामा विमानस्थल पुग्नुभएका एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि कायरतापूर्वक दुर्व्यवहारकाे प्रयास गरिएको बताइएको छ। वक्तव्यमा भनिएको छ, ‘अनेरास्ववियु आफ्नो स्थापना कालदेखि नै राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, विधिको शासन तथा कानूनी राज्यको पक्षमा वकालत गर्दै आएको संगठन हो, एमालेका नेतामाथि विराटनगर विमानस्थलमा कायरतापूर्वक गरिएको दुर्व्यवहारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

संगठनले बहुदलीय लोकतन्त्र र कानूनी राज्यको उपहास गर्दै यस्ता घटना दोहोरिनु देशलाई अराजकतातर्फ धकेल्ने संकेत भएको दाबी गरेको छ। ‘जनमत र संविधानले नचिनेको, अलोकतान्त्रिक र असंवैधानिक सरकारले देशमा अराजकतालाई प्रवर्द्धन गरिरहेको कुरा यस्ता क्रियाकलापले पुष्टि गर्छ,’ वक्तव्यमा उल्लेख छ।

अनेरास्ववियुले यस्ता ‘कु–कृत्य’ पुनः दोहोरिए कडा प्रतिवादमा उत्रिने चेतावनी पनि दिएको छ। वक्तव्यको संगठनले साे घटनाप्रति घोर निन्दा व्यक्त गर्दै जिम्मेवार निकायसँग उचित कारबाहीको माग गरेको छ।