रामेछाप, मंसिर ९ । रामेछापमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि औपचारिक रूपमा प्रारम्भ गरिएको छ। जिल्ला सदरमुकाम मन्थलीमा मन्थली नगरपालिकाको आयोजनामा मंगलबार बिहान प्रभातफेरीसहित कार्यक्रम सुरु गरिएको हो।
मदन भण्डारी चोकबाट सुरु भएको र्याली मन्थली बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै वाग्मती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिनमै सीमित नराखी ३६५ दिन निरन्तर चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले यस्ता विषय कानुनमा लेखेर मात्र पर्याप्त नहुने उल्लेख गर्दै व्यवहारमै कडाईका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो। व्यवहारिक कार्यान्वयनका लागि हरेक व्यक्ति जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो।
मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतको अध्यक्षतामा भएकाे कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, जिल्ला समन्वय समिति उपप्रमुख प्रेमसागर थापा, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, जनप्रतिनिधिहरू, नागरिक अगुवा, कर्मचारी तथा सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो।
हरेक वर्ष नाेभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियानकाे रुपमा मनाउने गरिन्छ ।













प्रतिक्रिया दिनुहोस्