काठमाडौं, मंसिर ११। प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षा प्रणाली स्थापित नगरेसम्म सामाजिक न्याय हासिल गर्न नसकिने बताउँदै यसको प्रभावकारी कार्यान्वयनमा राज्यले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ।
सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले सामाजिक सुरक्षालाई अन्तरपुस्ता लागत, सन्तुलन र समतामूलक दृष्टिले मजबुत बनाउने पूर्वसर्त नै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली भएको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, ‘बदलिँदो भूमिकाको जिम्मेवारीलाई नियाल्दा परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने रहेछ, हाम्रो जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत, सन्तुलन र समतामूलक बनाउनका लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन अपरिहार्य देखिन्छ, यसको सफल कार्यान्वयनबाट नै हुनेले नहुनेलाई, धनीले गरिबलाई सहयोग गर्ने सामाजिक ऐक्यबद्धताको सिद्धान्तमा आधारित उत्पादनमुखी समाज निर्माण हुने रहेछ।’
प्रधानमन्त्री कार्कीले आफू जुनसुकै भूमिकामा रहे पनि सामाजिक सुरक्षालाई दिगो बनाउन निरन्तर रचनात्मक सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, ‘कोषको रकमलाई न्यायोचित प्रतिफलसहित राज्यले आन्तरिक पुँजीका रूपमा परिचालन गर्ने विषयमा स्पष्ट दिशा कसरी प्रदान गर्न सकिन्छ भन्नेबारे छलफल गरिनेछ, राज्यप्रति नागरिकको अपनत्व सिर्जना गर्दै सम्बोधनको वातावरण निर्माण हुने विश्वास दिलाउन चाहन्छु, म जुनसुकै भूमिकामा रहे पनि सामाजिक सुरक्षालाई दिगो बनाउन रचनात्मक सहयोग रहने प्रण गर्दछु।’













प्रतिक्रिया दिनुहोस्