जनता टाइम्स

११ मंसिर २०८२, बिहीबार २१:२८

रामेछापमा एमाले सर्वसहमतिबाट महाधिवेशन प्रतिनिधि चयनकाे तयारीमा, ९ सदस्यीय कार्यदल गठन


रामेछाप,  मंसिर ११। नेकपा (एमाले) रामेछापले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया सर्वसहमतिकै आधारमा टुङ्ग्याउने लक्ष्यसहित तयारी अघि बढाएको छ।

यस उद्देश्यका लागि जिल्ला इन्चार्ज तथा पार्टी पोलिटब्युरो सदस्य कमल चौलागाईँको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको छ।  कायर्यदलमा चाैलागाईँ सहित प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेले र गीता कार्की, प्रदेश सदस्य शान्ति प्रसाद पौडेल र आनन्द कुमार श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया, उपाध्यक्ष होतराज ढकाल तथा सचिव प्रकाश कुमार कार्की सदस्य रहनु भएको छ । कार्यदलले सर्वसहमतिकाे आधारमा १२ जना प्रतिनिधि छाम्नको लागि सबै क्लस्टरसँग छुट्टाछुट्टै बैठक बसेर निर्णयमा पुग्ने बताइएको छ ।

१२ प्रतिनिधिमा ६ जना खुला, ४ जना महिला, १–१ जना युवा तथा उत्पीडित कोटाबाट चयन गरिनेछ। भूगोल र अन्य सन्तुलन मिलाएर सर्वसहमितकाे बाटो कार्यदलले खोजिरहेको छ । रामेछापमा एमालेका ७ हजार ५ सयभन्दा बढी सदस्य रहेका छन्  ।