काठमाडौं, पुस ५ । फास्ट फुड एसोसिएसन नेपालले ‘स्वास्थ्यसँग फास्ट फुड’ भन्ने मूल नारासहित ‘प्रथम फुटसल कप’ आयोजना गर्ने भएको छ।
फास्ट फुड एसोसिएसन नेपालका महासचिव राकेश श्रेष्ठका अनुसार प्रथम फुटसल कप आज बिहान ८ बजेदेखि काठमाडौंको धुम्बाराही हाइटस्थित सूर्य फुटसलमा सञ्चालन हुनेछ। प्रतियोगितामा सात वटा टिमको सहभागिता रहनेछ।
प्रतियोगितामा सगरमाथा स्ट्राइकर्स, धौलागिरी योद्धा, मकालु किङ्स, मनास्लु लेजेन्ड्स, हिमचुली टाइगर्स, गणेश हिमाल वारियर्स र लाङटाङ किकर्स सहभागी हुने आयोजकले जनाएको छ। खेलहरू एन्फा सर्टिफाइड रेफ्रीहरूमार्फत सञ्चालन गरिने जानकारी पनि दिइएको छ।

महासचिव श्रेष्ठका अनुसार प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद ३० हजार रुपैँयासहित ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो स्थान प्राप्त गर्ने टिमलाई नगद २० हजार रुपैँया, तेस्रो स्थान हासिल गर्ने टिमलाई नगद १० हजार रुपैँया प्रदान गरिनेछ। चौथो स्थान प्राप्त गर्ने टिमलाई सान्त्वना पुरस्कार स्वरूप नगद ५ हजार रुपैँया र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, प्रतियोगितामा सहभागी सम्पूर्ण टिमलाई सहभागिता प्रमाणपत्र प्रदान गरिनेछ।

२०६१ सालमा स्थापना भएको फास्ट फुड एसोसिएसन नेपाल देशभर सञ्चालनमा रहेका फास्ट फुड व्यवसायीहरूलाई एउटै छाता संगठनअन्तर्गत समेट्दै आएको गैरसरकारी, नाफारहित तथा गैर–राजनीतिक संस्था हो। संस्थाले व्यवसायीहरूको हकहित संरक्षण, व्यावसायिक एकता प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै खाद्य स्वच्छतासम्बन्धी सचेतना, रक्तदान कार्यक्रम तथा भूकम्प र बाढीपीडितलाई सहयोगजस्ता सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
यस प्रतियोगितामार्फत व्यावसायिक एकता, आपसी सद्भाव, खेलकुद संस्कृतिको विकास र स्वस्थ जीवनशैलीप्रति सचेतना अभिवृद्धि हुने विश्वास लिइएको फास्ट फुड एसोसिएसन नेपालका अध्यक्ष होमराज श्रेष्ठले जानकारी दिनुभएको छ।













प्रतिक्रिया दिनुहोस्